रुकुम पश्चिममा बढ्दै डेंगुका बिरामी, छैनन् सचेतनाका कार्यक्रम

रुकुम पश्चिममा बढ्दै डेंगुका बिरामी, छैनन् सचेतनाका कार्यक्रम

मुसिकाेट । पछिल्लो समय रुकुम पश्चिममा डेंगुका बिरामी बढेका छन् । जिल्ला अस्पताल सल्ले र निजि अस्पतालमा पछिल्लो एक हप्तामा दश जना बिरामी फेला परेका छन् ।
जिल्ला अस्पताल सल्लेमा तीन जना र साझा मुराल अस्पतालमा सात जना डेंगुका बिरामीको उपचार भएको बताईएको छ । जिल्ला अस्पताल सल्लेका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णु बहादुर बुढाथोकीका अनुसार पछिल्लो एक सातामा अस्पतालमा तीन जना डेंगुका बिरामी फेला परेर उपचार गरिएको छ ।

मुसिकोट नगरपालिका १ मा रहेको साझा मुराल अस्पतालमा पनि एक सातामा सात जना डेंगुका बिरामी फेला परेका छन् । अस्पतालका प्रबन्धक डा. दिपक पुनका अनुसार दुई जनालाई डिस्चार्ज गरिएको छ भने पाँच जना अस्पतालमा उपचाररत छन् । डा. पुनका अनुसार पछिल्लो समय घर छेउछाउमा थुप्रिएको फोहोर, खोल्साखोल्सीमा जम्मा हुने पानी लगायतका कारण बढेका लामखुट्टेको टोकाई, सचेतनाको अभाव लगायतका कारण डेंगुका बिरामी फेला पर्न थालेका हुन् । विशेषगरी साँझ बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण फैलिने गर्छ ।

डेंगुको संक्रमण बढिरहदा स्थानीय सरकारले सचेतनाको कार्यक्रम सञ्चालन नगरेको जनगुनासो बढेको छ । मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्रीले यस वर्ष नगरपालिकामा डेंगु नियन्त्रण तथा सचेतना कुनै पनि कार्यक्रम प्राप्त नभएको बताउनुभयो ।

डेंगु र यसका लक्षणहरु
डा. दिपक पुनका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । विशेषगरी यो घाम उदाउने वा अस्ताउने बेलातिर एडिज जातीको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। संक्रमितमध्ये १० प्रतिशत व्यक्तिहरुमा डेंगुको लक्षणहरु देखिन्छ ।

डेंगु भएमा एक्कासि टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी दुख्नुका साथै ढाडको जोर्नीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाक लाग्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक, गिजाबाट रगत बग्ने आदि लक्षणहरू देखिने गर्दछ । यसका साथै डेंगु भएको खण्डमा लगातार तीनदेखि १० दिनसम्म ज्वरो आउने गर्दछ ।

कसरी बच्ने डेंगुबाट?
डा. पुनका अनुसार डेंगु हुँदा ज्वरो आउने र धेरै ज्वरो आएमा पारासिटामोल खानुपर्ने हुन्छ । त्यस्तै डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त विकल्प रहेको उहाँको भनाइ छ । डा. पुन भन्नुहुन्छ ‘डेंगुबाट बच्न हामी एकजना लागेर हुँदैन सबै जना लाग्न आवश्यक छ । हामीले घरमा रोपेको फूलको गमलामा पानी जमेको छ भने त्यहाँ पनि लामखुट्टे आउँछ र डेंगु संक्रमण हुन सक्छ । त्यसैले हामीले घर वरिपरि सफा राख्नुपर्ने हुन्छ।’

घर वरिपरि सफा राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने, पानी टयांकीमा लामखुट्टे बस्न नदिनका लागि ढाकेर राख्ने, सकेसम्म सुत्दा झुलको प्रयोग गर्ने, खेतबारीमा काम गर्दा सकेसम्म हातखुट्टा ढाक्ने लुगा लगाउने, लामो बुट लगाउने, सकेसम्म साँझ घरबाट बाहिर ननिस्कने, लामखुट्टे आउन नदिन विभिन्न खालको औषधिहरुको प्रयोग गर्न सकिने डा. पुनले बताउनुभयो । त्यस्तै घरमा लामखुट्टे लाग्न नदिन झ्याल ढोकामा जाली लगाउन उहाँको सुझाव छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार