मन बहकिरहन्छ । तह लाउन हम्मेहम्मे पर्छ । तह लाएरै मन निचोड्न हुँदैन पनि । बरू आफै मनको पछिपछि
दगुर्न सक्नुपर्छ । मौका परे मनको लड्डु घ्यूमा चोबेर खान सक्नुपर्छ । वा, मनलाई उचित व्यवस्थापन गर्नुपर्छ ।
कहिले कर्तव्यदेखि टाढा भाग्छ मन । कहिले कर्तव्यसँगै हिँडिदिन्छ । कर्तव्यलाई त हरघडी व्यवस्थापन गर्नु छँदै छ
।
यही क्रममा मणिचुड क्षेत्रका सम्पदाहरूको निर्माण अवस्थाबारे बुझ्न प्रमुख पुरातत्त्व अधिकृत रमेशराज पौडेलसँग
चालक राम कार्की र म मणिचुडको लागि कार्यालयबाट रवाना भएथ्यौँ । त्यो दिन थियो २०७९ भाद्र ६ गते दिउँसो २
बजेको । हामी साँखुको बाटोतिर नलागी चाबहिल, बौद्ध, गोकर्णेश्वर हुँदै सुन्दरीजलबाट शिपपुरी राष्ट्रिय निकुन्जको
जङ्गल क्षेत्रभित्र छिरेथ्यौँ । यो दूरी पार गर्न ननस्टप कुदाइले पौने एक घण्टा लागेथ्यो ।
जङ्गलको सुरूमै कलकल बग्ने सुन्दरी नामकी कन्चन जलले हामीउपर मोहनी अस्त्र फ्याँक्दा छल्दै उकालिएथ्यौँ ।
विविध प्रजातिका लेकाली वनस्पति र झ्याम्मिएका रुखहरूले हातपात गर्न खोजेथे । जङ्गली जीवजन्तु र
चराचुरुङ्गीले लोरी गाएर बाटोमै सुताउने प्रयत्न गरेथे । दायाँतर्फको खाली भागबाट चियाउँदै गरेको काठमाण्डौ
उपत्यकाले नुतन दृश्यको पासो थापेर खुट्टा अड्काउन खोजेथ्यो । शितल पवनले लुगाभित्र हात हाली कुतकुत्याउँदै
पिरतिको प्रस्ताव राखेथ्यो । हामी अनेक उपक्रमले भाग्दै भाग्दै १९०० मिटरको उचाइमा आइपुगेथ्यौँ । निकुन्जभित्र
मणिचुडसम्मको करिब १२ किलोमिटर नागबेली ग्राभेल सडक छिचोल्न पनि झन्डै पौने एक घण्टा लागेथ्यो ।
उकालोमा हाम्रा तृषित नजरहरू खाजा खुवाउने वा चिया पिलाउने होटेलको खोजीमा भौँतारिएथे । निकुन्ज क्षेत्रभित्र
होटेल रेष्टुँरा कहाँ पाउनु त भन्दै हाम्रा मनले लोभी नजरहरूलाई थामथुम पारेथे ।
मणिचुड जाने बाटो लिखित टिनको पातोको संकेत पाएपश्चात् हामीले सवारी सडकको छेउमा अड्याएथ्यौँ । सडक
मार्ग छोडेर ठाडो ढुङ्गे सिँढी चढ्दै दशपन्ध्र मिनेटजति जुरुकजुरुक उक्लिएथ्यौँ । सानो चहुरमा वनभोजमा
रमाइरहेका एक हुल युवकयुवतीहरू दृष्टिगोचर भएथे । उनीहरूलाई कुनै तलवितल नपारी चहुरको छेउछेवै अलिकति
तेर्सिएथ्यौँ । सानो खोल्सो तरेर पूर्वतिर अगाडि बढेपछि फिरफिर नाचिरहेका रङ्गीविरङ्गी तोरन तथा बौद्ध मन्त्र
लिखित ध्वजापताकाहरूले मनै चङ्गा तुल्याएथे । त्यसको मुनि शंखको आकारको निलोकालो पोखरी उदाङ्गिएथ्यो ।
वरिपरि छरिएका चैत्यहरू आँखामै अटाउन आइपुगेथे । पोखरीलाई घेरेको परम्परागत इँट्टाको बार मणिचुडकै
पगरीजस्तो देखिएथ्यो ।
राजा मणिचुडसँग सम्बन्धित बौद्ध स्थल भएकोले ठाउँको मणिचुड नामाकरण गरिएको रहेछ । गौतम बुद्ध पूर्व
जन्ममा बोधिसत्व थिए र बोधिचर्या गर्ने क्रममा यही स्थलमा आफ्नो शिर करौतीले रेट्न लगाएर मणि दान गरेका
थिए भन्ने किम्वदन्ती रहेछ ।
मणिचुड पोखरीलाई फनक्कै तीनचोटि घुमेर अवलोकन गरेपछि हामी साविक सडकमा ओर्लिएथ्यौँ । अब हामी जसरी
भाग्दै आइपुगेथ्यौँ उसरी नै भाग्दै ओर्लने विचार कसेथ्यौँ । मन ढु्रगासँग साटेका थियौँ भने आँखा स्फटिकसँग ।
स्पाइनी बेबलरले नाच्दै बाटो छेकोस् कि चितुवा, चरीबाघ, आसामी बाँदर, सालक आएर अगाडि बढ्न पाइँदैन भन्दै
नाराजुलुश गरुन् हामी कदापि मान्नेवाला थिएनौँ । वारिपारिको मनमोहक दृश्यउपर आँखा चिम्म चिम्लिएर र
मनलाई मचक्क बाँधेर भाग्दै भाग्दै जसरी पनि अफिस पुग्नुथियो ।
यसो गर्नुको कारण यो थियो कि हामी अधिकांश जागिरेहरूको मन नेपालगन्जतिरका फुकीढल खच्चडमा बदलिएको
हुन्थ्यो । चाबुकको चुटाइले निलडाम भएको पिठ्युँमा कालापारेलाई चढाएर खटखट गर्दै रुपैडिहा र्पुयाउनु र रुपैडियाका
विदेशी मालसामान बोकेर नेपालगन्जका गल्ली गल्लीमा ओसार्न सकेको घमण्डमा हिनहिनाउनु मात्र समस्त जागिरे
मनको जीवन थियो ।
जागिरेको यस्तै कमजोर मनको छन्क पाएर विभिन्न तनावको गह्रौँ भारी लिएर शक्तिशाली कर्तव्य मनको घोडा
चढ्थ्यो । मनको आँखामा फलामको पाता कसेर र मनको मुखमा कैँचा कोचेर सोही कर्तव्य सगौरव हाटहुट
गरिरहन्थ्योः हट घोडा हट ।
हामी तीन थान मात्र यात्री रहेको यस यात्रामा पनि हुबहु त्यस्तै घटना भएको थियो । कर्तव्य मनको घोडा चढेर
मनलाई चाँचुँ गर्न नदिई कोर्रा लगाउँदै यहाँतक आइपुगेको थियो । अब फेरि सोही कर्तव्य उसरी नै मनलाई आफ्नो
नियन्त्रणमा घिच्याउँदै अफिसमा पुर्याउन चाहन्थ्यो वा अफिस बन्द भैसकेको भए कोठामा र्पुयाएर खाटमा थचार्न
चाहन्थ्यो ।
सुन्दरीजल र शिवपुरी राष्ट्रिय निकुन्जको सुन्दरताको गन्ध पाइसकेको उत्तेजित मन सधैँ कर्तव्यकै घोडा के
चढिमाग्दो हो ? जब घडीमा पाँच बजेको सुइँको पायो मन बुर्लुक्क उफ्रेर कर्तव्यको घोडा चढिहाल्यो । पालोपैँचो
फर्काएझैँ कर्तव्यको आँखामा पाता कसेर र मुखमा कैँचा ठोकेर चाबुक लगाउँदै मनले उल्टै कर्तव्यलाई पो भन्न
थाल्योः हट घोडा हट ।
अब मन फुक्काफाल थियो । जे पायो त्यही हेर्न चाहन्थ्यो । जे पायो त्यही गर्न चाहन्थ्यो । कर्तव्य असह्य पीडाले
हिनहिनाउँथ्यो तर मनले चाबुकका कोर्रा बर्साइहाल्थ्यो । बेलुका ५ बजेपछि पनि सके अफिस वा नसके घर पुग्नुपर्ने
कर्तव्यनिष्ठ तीनथान जागिरे मनुवा अनि, मनको वशमा परेर विनायोजना उचालिएथ्यौँ चिसापानीतिर ।
कर्तव्यभन्दा मन शक्तिशाली भैदिएपछि लेकाली सुन्दरताको असली स्वाद चाख्न पाएथ्यौँ । जङ्गलका लहराहरूसँगै
लहराएथ्यौँ । मनै कुतकुत्याउने लेकाली पवनसँग छिल्लिएथ्यौँ । पारि पारिका गोधुली रङमा चमचमाएका सुन्दर
वस्ती एवम् मनमोहक भूबनोटलाई फ्रुटीजस्तो झोल तुल्याएर तनतनी चुस्न पाएथ्यौँ ।
उस्तै ग्राभेल सडक ८ किलोमिटर जति पार गरेपछि जङ्गलको बीचमै बाटो फाटेथ्यो । दोबाटोको खुल्ला चियानास्ता
पसलमा झुम्मिएका मान्छेहरूले माथितिर जाने बाटो चिसापानी पुग्ने र तलतिर जाने बाटो हैबुङ जाने कुरा जानकारी
गराएथे । उनीहरूकै निर्देशन मुताबिक हामी तेर्पायाँ उकालो हानिएथ्यौँ । दुई घुम्ती मोडिएर अलिकति पर पुग्दा
अप्रत्याशित रूपमा देखिएको दृश्यले होसहवास गुम बनाएथ्यो । घना जङ्गलको करिब सबै क्षेत्र ढाकेको निकै ठूलो र
लाम्चो निलो ताल । धाप ड्याम भनिँदोरहेछ यसलाई । थुम्काहरूको कापकापबाट भाग्न खोज्ने पानीलाई ड्यामले
थुनेर विशाल ताल बनाइएको रहेछ । मोटरबोटहरू समेत सलबलाउँदा रहेछन् दिउँसो । मन त्यही रहमा हाम फालेर
छप्लाङछुप्लुङ गर्न थालेथ्यो । हामीले उसलाई मनपरी गर्न दिएथ्यौँ ।
तालले फैलाएको रमणीय दृश्यमा एकछिन् चोबलिएर हामी अझै अगाडि बढेथ्यौँ । करिब २ किमि पार गरेपछि
पुगेथ्यौँ चिसापानी नामको सानो थुम्कोमा । काठमाण्डौ, सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको संगम स्थल रहेछ यो ।
तामाङ संस्कृतिको अनुपम नमूना । तर भत्किएका छन्् छाप्रोदेखि गगनचुम्बी भवनहरू । पुरानो बाटो र केही
पुराना घरहरू अग्ला झाडीभित्र पुरिएका छन् । छरप्रष्ट छ भौतिक संरचनाको अस्थिपन्जर । ७२ सालअगाडि ठूलो
एवम् व्यस्त बजार थियो रे यहाँ । ७२ को भूकम्पले तहसनहस पारेपछि उजाडिएको रहेछ चिसापानी । उजाडिएको
बस्तीमा अँध्यारो परेपछि आइपुगेर बास बस्न खोज्दा मन समेत अँध्यारिएर उजाडिन खोज्दो छ । चिसो सिरेठोले
मुटुमै डेरा जमाउन खोज्दो छ । अँध्यारोलाई समेत ओझेलमा पार्ने भुइँकुहिरोले सानो बजारलाई खर्लप्पै निलेको छ ।
भोलि पनि यस्तै रहे चिसापानी आइपुग्नुको प्रयोजन समाप्त हुने देखी मनहरू आत्तिँदा छन् ।
घोडाको पिठ्यूँजस्तो भूभागमा आर्मीपोष्ट र दुई तीन होटेलहरू तङ्ग्रिने कोशिसमा रहेछन् । बाँकी होटेलहरू अलि तल
पाटीभन्ज्याङ जाने बाटोमा ठडिएका रहेछन् । रात परेकोले हामी माथिकै दोर्जे लाक्पा होटेलमा मिठो आतिथ्यमा
रङमङिएर बास बसेथ्यौँ । सोलारको झिमझिम बत्तीमा थकाली खानाको बेहद स्वाद ग्रहण गरेथ्यौँ ।
बिहान छर्लङ्गै आकाश खुलेथ्यो । पूर्वोत्तरको हिमशिखरलाई चिर्दै गरेको सूर्योदयको दुर्लभ दृश्य नाङ्गो आँखाले
हेरेथ्यौँ । पूर्व, पश्चिम र उत्तरतर्फ दर्जनौँ हिमाच्छादित शिखरहरू आकाशमा झुन्डिएका चाकाहरूजस्ता देखिएथे ।
पूर्वतिरको बगरमा कुहिरोको सिरक गम्लङ्ग ओढेर यौवनवती इन्द्रावती सुतिरहेकी देखिइथी । पूर्वपट्टि उठेका
गिरिहरूले इन्द्रावतीको सिरक तानेर जिस्क्याउन आँटेझैँ देखिएथे । पश्चिमतिर गौरीशंकर र लाङटाङ हिमाल हात
हाल्ने सुरमा आम्ने साम्ने खडा देखिएथे । उत्तरतिरको दोर्जेलाक्पा हिमाल उनीहरूलाई उचाल्ने दाउमा देखिएथ्यो ।
दक्षिणपट्टिको शिवपुरी निकुन्जले, मलाई हेर यता, के म तिनीहरूभन्दा नराम्रो छु र ?ू भनेर सोधिरहेझैँ देखिएथ्यो
।
चिसापानी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा पर्दोरहेछ । तर यहाँबाट मेलम्ची भने ३० किमि अर्गात ३ घण्टा
टाढाको दुरीमा रहेछ । यहीँबाट जानसकिँदो रहेछ पाटी भन्ज्याङ, चिप्लिङ, देउराली, गोल्फुभन्ज्याङ, कुटुङसाङ र
लामटाङ राष्ट्रिय निकुन्जभित्र पर्ने मागिनगोठतक ।
हामी होटेलमा चिया मात्र चाखेर वापस फर्किएथ्यौँ । बाटोमा हैबुङ, भोटेचौर, जरसिँपौवा हुँदै साँखु निस्कने लम्बेतान
योजना बुनेथ्यौँ । हैबुङको गाउँबाट पूर्वतिर बगेको पक्की सडक देखेर घुटुघुटु थुक निलेथ्यौँ । तथापि हैबुङपट्टिको
भागमा बाटो निकै बिग्रिएर ओर्लन कठिन हुने जानकारी गराइएकोले र त्यसै दिनको लागि केही राजनीतिक दलले
बन्दको आह्वान गरेको हल्लाले त्यो पक्की बाटो असुरक्षित ठानेथ्यौँ र हामी फर्किएथ्यौँ ग्रावेल सडक पछ्याउँदै
शिवपुरी राष्ट्रिय निकुन्ज हुँदै सुन्दरीजल । हिजो उतर्सिँदै भागेको लेकाली पाखामा आज भाग्नुपर्ने औचित्य
देखिएनथ्यो । सुन्दरी जललाइै अस्त्रले बेर्न दिएथ्यौँ । रुखपातलाई हातपात गर्न दिएथ्यौँ । चराचुरुङ्गीको चिरबिर
गीतलाई सुसेल्दै जवाफ फर्काएथ्यौँ ।
सुन्दरीजल कट्नेबित्तिकै तल परेको कर्तव्य बुर्लुक्क उफ्रेर मनको घोडा चढ्दै भन्न थालेथ्योः हट घोडा हट ।
अनि मन पैयाँ ठोक्दै अफिसतिर सोझिएथ्यो ।