शरद र रोशनीको शव ३ दिनपछि आफन्तले बुझे

शरद र रोशनीको शव ३ दिनपछि आफन्तले बुझे

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा फेला परेको दुई किशोर किशोरीको शव तीन दिनपछि आफन्तले बुझेका छन् ।

असाेज ३० गते जंगलमा हत्या गरी खाल्डोमा पुरिएको अवस्थामा फेला परेको दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र साेही ठाउँमा बस्दै आएका दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव मंगलबार दिउँसो आफन्तले बुझेका हुन् ।

यसअघि दोषीलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका थिएनन् भने पोष्टमार्टम गर्न समेत नदिने अडान लिएका थिए । स्थानीय प्रशासनसँग सहमतिपछि मंगलबार दिउँसो शव बुझेको रोशनीका काका टेकसिंह महतराले बताए ।

मृतक दुबै जनाको पोष्टमार्टम राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ । पोष्टमार्टमपछि आफन्तलाई शव जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकरी दिए । उनीहरुको शव शीतलपुरमा बबई नदी किनारमा अन्त्येष्टि हुँदैछ ।

मृतकको शरीरमा चोटपटक देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरी प्रमुख वलीले घटनाका विषयमा अनुसन्धान भइरहेकाे र नयाँ तथ्य फेला नपरेको बताएका छन् । घटनाको अनुसन्धानका लागि प्रहरीले १० जना भन्दा धेरैसँग सोधपुछ गरिसकेको छ ।

गत असोज २७ राति घरबाट हराएका शरद–रोशनी शव आइतबार दमार गाउँको जंगलमा फेला परेको थियो । उनीहरु दुबै जना दमार गाउँकै अम्बिकेश्वरी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै आएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार