मुुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले चौरजहारी देखि मुसिकोटसम्म नगर बस सञ्चालनमा ल्याएको छ । कार्यालय कामकाजको लागि मुसिकोट जाने नागरिकहरूको सहजताका लागि चौरजहारी-मुसिकोट नगर बस सेवा सञ्चालन गरिएको जनाइएको छ ।
आज बाट यात्रुहरूको सहुलित र सहज आवागमनका लागि नगर बस सञ्चालन गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
चौरजहारीबाट प्रत्येक दिन बिहान ७ः३० बजे नगर बस मुसिकोटका लागि छुट्ने छ भने मुसिकोटबाट अपरान्ह ४ बजे चौरजहारीका लागि बस छुट्ने जनाइएको छ ।
नगरवासीलाई सहज र सहुलित यातायात सेवा दिन असोज २६ गतेको नगर कार्यपालिका बैठकले चौरजहारी–मुसिकोट नगर वस संचालन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।
चौरजहारी देखि मुसिकोट सम्मको भाडा ४ सय ५० निर्धारण गरिएको छ । यस्तै खोलागाउँदेखि मुसिकोट भाडा ५५० कायम गरिएको छ ।
चौरजहारी नगरपालिकाले २०७६ देखि नगरपालिका क्षेत्रभित्र नगर बस सञ्चालन गर्दै आएको छ । हाल चौरजहारी नगरपालिकाले ५ वटा नगर बस सञ्चालन गरेको छ ।