मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा सहित स्मृति मेला सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ र ७ को सिमाना बरापाटामा सहित स्मृति मेला सुरु भएकाे हाे ।
आज सहिद स्मृति मेला व्यवस्थापन समितिको आयोजनामा भएको चार दिने मेलाको कर्णाली सरकारका जलश्रोत तथा उर्जा विकास मन्त्री रातो कामीले उद्घाटन गर्नुभएको हो ।
मेला कात्तिक ६ गते सम्म चल्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार महिला तथा पुरुष भलिबल प्रतियोगिता, महिला पुरुष डबल ब्याटमिन्टन र लोक दोहोरी प्रतियोगिता मेलामा संचालन हुनेछ । त्यस्तै घैंटोफोर र भाले तान्ने प्रतियोगिता पनि आयोजना गरिएको मेला संयोजक हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।
पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमले नगद एक लाख १ हजार रुपैँयाको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै दोस्रो हुने टिमले नगद ६० हजार १ सय, कप, मेडल र प्रमाणपत्र, सेमिफाइनल पुग्ने २ टिमले समान २० हजार १ सय, मेडल र प्रमाणपत्र पाउने जनाईएको छ ।
उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व अर्थमन्त्री गोपाल शर्मा, बाँफिकोट गाउँपालिका अध्यक्ष जनक कुमार बाँठा मगर, उपाध्यक्ष तारा बुढा केसी लगायत गाउँपालिकाका १० वटै वडाका वडाअध्यक्षहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, पूूर्व जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।