मतदाता भेटघाटलाई तिब्रता दिदै स्वतन्त्र उम्मेदवार केसी

मतदाता भेटघाटलाई तिब्रता दिदै स्वतन्त्र उम्मेदवार केसी

मुसिकोट । रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका युवा नेता तारक केसीले मतदाता भेटघाटको लागि घरदैलो अभियानलाई तिब्रता दिनुभएको छ ।

परिवर्तन, न्याय, समानता, स्वतन्त्रता र सुशासनको मुख्य एजेण्डा सहित चुनावमा होमिनुभएका केसीले पहिलो चरणको मतदाता भेटघाटलाई तिब्रता दिनुभएको हो ।

उहाँले घरदैलोमै मतदाता भेट गर्दैगर्दा आफूलाई थप उत्साह थपिएको बताउँनुभयो । त्रिवेणी गाउँपालिकाको खाराबाट शान्तिका प्रतिक परेवा उडाएर चुनावी अभियान सुरु गर्नुभएका केसीले आफ्नो एजेण्डाको पक्षमा मतदाताहरुको पूर्ण साथ र समर्थन रहेको समेत बताउनुभयो ।

उहाँले त्रिवेणी गाउँपालिका, मुसिकोट र चौरजहारी नगरपालिका विभिन्न वडाहरुमा पहिलो चरणको मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिनुभयो । भेटघाटको क्रममा मतदाताहरुको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको उम्मेदवार केसीले बताउनुभयो । सर्वसाधारणहरुले विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, राजनीतिक विकृति लगायतका विषयमा गुनासो समेत राखेको उहाँले जनाउनुभयो ।

शुक्रबारबाट आठबिसकोट नगरपालिकाका बिभिन्न क्षेत्रमा घरदैलो मार्फत मतदाता भेटघाट गर्ने योजना बनाउनुभएका केसीले फजुल खर्च, अनावश्यक तामझाम र झुटा आश्वास नदिएर घरदैलो अभियान मार्फत आफुले मत माग्ने बताउनुभयो । उहाँले आफ्नो उम्मेदवारी कसैको विरुद्ध नभई समग्र जिल्लाको हित, विकास र सुशासनको पक्षमा रहेको उल्लेख गर्नुभयो ।

रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवार केसीसँगै माओवादी नेता जनार्दन शर्मा, एमालेमा नन्दराम देवकोटा, राप्रपा दिपक मल्ल, मंगोल नेशनल अर्गनाईजेशनका हरिबहादुर पुन र स्वतन्त्र उम्मेदवार राजन पाण्डे चुनावी प्रतिश्पर्धामा रहनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार