जनार्दनविरुद्ध बागी उठेका केसी भन्छन् : माओवादीको बिरासत तोड्छु

जनार्दनविरुद्ध बागी उठेका केसी भन्छन् : माओवादीको बिरासत तोड्छु

नेपाली कांग्रेसका नेता तारक केसी रुकुम पश्चिममा जनार्दन शर्मासँग प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।

उनको दलको आधिकारिक निर्णय जनार्दन शर्मालाई सहयोग गर्ने छ, तर केसी भने उनै शर्मालाई हराउने उद्देश्य बोकेर चुनाव प्रचारमा छन् । यहाँ नेकपा एमालेबाट नन्दराम देवकोटा उम्मेदवार छन् ।

पटकपटक चुनाव जितेर ५ पटक मन्त्री भएपनि शर्माले रुकुम पश्चिमको विकासलाई अगाडि बढाउन नसकेको भन्दै केसीले मत मागेका छन् ।

‘रुकुमेली जनताले जनार्दनलाई पटक पटक जिताए, तर के पाए ? जनार्दनले त ५ पटक मन्त्री खाए । जनार्दनले जिते मन्त्री बन्छन् भन्नेबाहेक अरु केही छैन, रुकुमेली जनतासँग भन्नलाई’, ३३ वर्षका केसीले अनलाइनखबरसँग भने, ‘जनार्दनका झुटा आश्वासनबाट आजित जनताले यसपटक मत बदल्नेछन्, रुकुममा माओवादी विरासत तोड्ने छन् ।’

आफूलाई कांग्रेसको २६ हजार मत र पहिलो पटक मतदान गर्ने युवा पुस्ताले मत दिने केसीले दावी गरे ।

प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा कांग्रेसले प्रदेशसभामा एउटा सिट दाबी गरेको थियो । सिट बाँडफाँटका क्रममा प्रदेशसभा ख कांग्रेसको भागमा परेको थियो र प्रेमप्रकाश ओलीले उम्मेदवारी दिएका थिए । तर बैंकिङ कसूर मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको १ महिना कैद र ७ लाख रुपैयाँ जरिवाना भुक्तान नगरेको देखिए पछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदियो र रुकुम पश्चिम कांग्रेसको उम्मेदवारविहीन भयो ।

माओवादीलाई सघाउनु कांग्रेसका लागि बाध्यात्मक परिस्थिति भएको केसी बताउँछन् । आफू कांग्रेसको आधिकारिक उम्मेदवार भएको दावी गर्दै केसी पार्टीभित्रको आन्तरिक भाँडभैलोका कारण मात्र स्वतन्त्र उम्मेदवार हुन पुगेको बताउँछन् । ‘मेरो जित नै काँग्रेसको जित हो । यो माओवादीको दमन विरुद्धको प्रतिवाद पनि हो’ केसीले भने, ‘देशमा को कहाँ मिल्यो थाहा छैन, तर रुकुमा काँग्रेस–माओवादी कहिल्यै मिल्न सक्दैन ।’

जिल्लामा कांग्रेसका शीर्ष नेताहरु भने प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मालाई मत माग्दै घरदैलो गरिरहेका छन् । यसअघि जनार्दनका प्रतिद्वन्द्वी रहेका कांग्रेसका गोपाल जीजंग शाह, मानबहादुर नेपालीलगायतका नेताहरु संयुक्त चुनावी सभामा सहभागी भइरहेका छन् ।

केन्द्रको निर्णयविपरीत बागी उम्मेदवार बनेको भन्दै कांग्रेसले भने केसीलाई कारबाही गरिसकेको छ । कांग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारीका अनुसार केसीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र कांग्रेस केन्द्रीय कार्यालयबाट २५ असोजमा प्राप्त भइसकेको छ ।

तर कांग्रेसका केही नेताहरु भने खुलेरै केसीको पक्षमा मत मागिरहेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनका नाममा माओवादीसँग तालमेल गर्दा रुकुममा कांग्रेसलाई सिध्याउने परिपञ्च रचेको कांग्रेस रुकुम पश्चिमका पूर्व उपसभापति वीरहादुर वलीको आरोप छ ।

‘देउवा दाइलाई नै पटक पटक भन्यौं, कि रुकुममा तालमेल नगरिदिनुस् । यदि गर्ने नै हो भने सम्मानजनक सिटको व्यवस्था गर्नुस् भन्यौं, तर त्यसो हुन सकेन । पार्टीलाई ध्वस्त पारेर माओवादीलाई जिताउन सकिएन’ वलीले भने ।

‘रुखको रक्षा फूलले गर्छ’

उम्मेदवारी दर्ताअघिसम्म सत्तारूढ दलबीच रुकुम पश्चिममा चुनावी तालमेलकोसहमति हुन सकेको थिएन । २३ कात्तिकमा माओवादी केन्द्र र नेपाली कांग्रेस दुबैले प्रतिनिधिसभा र प्रदेशसभाका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिए ।

तर कांग्रेस सभापति शेरबहादुरले देउवाले प्रतिनिधिसभामा उम्मेदवारी दिएका मानबहादुर नेपाली र प्रदेशसभा (क) मा उम्मेदवारी दिएका कृष्णबहादुर रोकायालाई टेलिफोनबाटै हप्काएर उम्मेदवारी फिर्ता लिन लगाएको कांग्रेस स्रोत बताउँछ ।

कांग्रेसको रुकुमपश्चिम सभापति समेत रहेका प्रेमप्रकाश ओली प्रदेशसभा ख मा सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बने पनि उनको उम्मेदवारी खारेजीमा पर्‍यो ।

त्यसैले कांग्रेसका कतिपय नेता कार्यकर्ता र शुभेच्छुकहरु पार्टीको जिल्ला र केन्द्रीय नेतृत्वसँग असन्तुष्ट छ ।

असन्तुष्ट पक्षको नेतृत्व गर्दै प्रतिनिधिसभामा उम्मेदवारी दिएका केसी ‘सूर्यमुखी फूल’ चुनाव चिह्न लिएर चुनावी मैदानमा छन् ।

उनी भन्छन्, ‘रुकुममा माओवादीसँग तालमेल गरेर शीर्ष नेतृत्वले ठूलो गल्ती गर्‍यो । रुखको अस्तित्व मेटाउने गल्ती शीर्ष नेतृत्वले गरेको छ,’ केसीले अनलाइनखबरसँग भने, ‘अब रुखको रक्षा सूर्यमुखी फूलले गर्छ ।’

चुनावी एजेण्डा

केसीले भौतिक पूर्वाधार, सडक र खानेपानीलाई प्राथामिकतामा राखेर घोषणपत्र सार्वजानिक गरेका छन् । विकासमा युवा साझेदारी कार्यक्रम, लघु उद्यम विशेष पञ्चवर्षीय योजना ल्याउने र जिल्लालाई एग्रो भिलेजका रुपमा विकास गर्ने महत्वकांक्षी सपना जनतालाई बाँडेका छन् ।

आफूले जिते बाटोघाटो, खानेपानी, विद्युत, शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखेर काम गर्ने उनको भनाइ छ । ‘राज्यको स्रोत साधनको चरम दुरुपयोग रोक्ने र उत्पादनशील नागरिक, समुन्नत र आत्मनिर्भर जिल्ला निर्माणमा गर्ने गरी रुकुम विकास मोडल बनाएर काम गर्छौं’ उनले भने । अनलाइनखबरबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार