कारागारमै मतदानको व्यवस्था

कारागारमै मतदानको व्यवस्था

यस पटक कैदीबन्दीका लागि कारागारमा मतदान गर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सबै कारागार कार्यालयमा निर्वाचन मतदान केन्द्र बनाउने  केन्द्रीय कारागार सुन्धाराका प्रमुख तथा जेलर ईश्वरीप्रसाद पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार कारागारमा रहेका कैदीबन्दीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका समानुपातिक उम्मेदवारलाई मात्रै मत दिन पाउनेछन् । उहाँले भन्नुभयो, “केन्द्रीय कारागारमा तीन हजार ३९३ कैदीबन्दी छन् तीमध्ये २० जनाले समानुपातिक उम्मेदवारलाई मात्र भोट दिन पाउने छन् ।” निर्वाचन आयोगमा सुरक्षा र अनुगमनको समन्वय भएकाले संयुक्त निर्वाचन सञ्चालन केन्द्रसमेत सञ्चालनमा छ ।

देशभर २५ हजार ९०० कैदीबन्दी छन् । जसमध्ये पाँच हजार ४५६ कैदीबन्दी काठमाडौं उपत्यकाको कारागारमा मात्रै छन् । तीमध्ये १९२ कैदीबन्दीले मतदान गर्न पाउने कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोग वा जिल्ला निर्वाचन आयोगले प्रत्येक कारागारमा रहेका कैदीबन्दीका लागि मतदान स्थलको व्यवस्थापन गरेको छ, उपत्यकाको हकमा १९२ कैदीबन्दीले मतदान गर्न पाउनेछन् ।”

ललितपुरको नख्खु कारागार प्रमुख बद्रीनाथ गैरेले निर्वाचन आयोगले कारागारमा अस्थायी मतदान केन्द्र तोकेको बताउनुभयो । उहाँका अनुसार नख्खु कारागारमा एक हजार ४०० सय कैदीबन्दी छन् । मतदाता नामावलीमा नाम दर्ता भएका ५० जना कैदीबन्दीले मतदान गर्न पाउनेछन् ।

यसका लागि निर्वाचन सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०७९ तथा निर्वाचन अनुगमन (पहिलो संशोधन) निर्देशिका, २०७९ अनुसार स्थापित केन्द्रले देशभर निर्वाचनबारे भइरहेकाे व्यवस्थापन, सुरक्षा र अनुगमनका कामलाई प्रभावकारी बनाउन समन्वय बढाउने विश्वास आयोगले लिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार