मुसिकोट । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि रुकुम पश्चिममा तालिम सञ्चालन गरिएको छ।
शुक्रबार जिल्लाका दुई वटा स्थानीय तहमा खटिने ९० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार आज जिल्लाको आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिका खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिम सञ्चालन गरिएको हो ।
भोली २६ गते चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका, २७ गते मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिम सञ्चालन हुने जनाइएको छ ।
तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारक्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकालगायत विषयमा तालिम दिइएको प्रमुख जिल्ला अधिकारि परमानन्द घिमिरेले बताउनुभयो ।
तालिम उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत खडक बहादुर केसी, प्रमुख जिल्ला अधिकारि परमानन्द घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख बिष्णु प्रसाद सोती, सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका प्रमुख गोबिन्द बहादुर केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत बोमलाल पराजुली, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीको आथित्यता रहेको थियो ।
६ वटा स्थानीय तह र ७३ वटा वडा रहेको रुकुम पश्चिममा १ लाख ४ हजार २ सय ८० मतदाता रहेका छन् । जिल्लाका १ सय ३९ मतदान केन्द्रमा ११ सय १२ कर्मचारी खटिने निर्वाचन कार्यालय जनाएको छ ।
यस्तै तालिम पश्चात बालमन्दिर प्राङगनमा नमूना मतदान केन्द्र निर्माण गरी नमूना मतदान कार्यक्रम संचालन गरिएको थियो ।
