रुकुम पश्चिममा निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आग्रह

रुकुम पश्चिममा निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आग्रह

मुसीकोट नगरपालिका– ५ को यमुना नन्द नमुना मावि सेरिगाउँ मतदान केन्द्र

मुसिकोट । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। जिल्लाका सबै मतदान केन्द्रहरुमा कर्मचारी, सुरक्षाकर्मी, मतपत्र, मतपेटिका लगायतका सबै निर्वाचन सामग्री पुगिसकेका छन् ।

उजेली न्यूज सँग कुरा गर्दै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्ला भर निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र कुनै पनि डर, त्रासमा नपरी निर्धक्क भएर मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई आह्वान गर्नुभएको छ ।

मतदान केन्द्रलाई घेराबार गर्ने, मतदातालाई पंक्तिबद्ध भएर बस्न डोरी लगाउने, मतदान गर्न जाने र निस्कने बाटो निर्माण गर्ने, गोप्य मतदानका लागि कोठा निर्माण, मतपेटिका राख्ने स्थान, अस्थायी शौचालय निर्माणको समेत व्यवस्था गरिएको छ।

जिल्लामा ७६ मतदान स्थल तथा १३९ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र रहेका छन् । एउटा अस्थायी मतदान केन्द्र जिल्ला कारागार र अर्को अस्थायी मतदान केन्द्र खलंगाको बराहटाकुरामा रहेको छ । उक्त मतदान केन्द्रमा प्रतिनिधिसभा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र स्वयम्सेवक सहित जिल्लाभर एक हजार ६८६ जना कर्मचारी परिचालन गरिएको छ ।

प्रजिअ घिमिरेका अनुसार निर्वाचन सुरक्षाको लागि जिल्लाभर करिब एक हजार नौ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ४६० नेपाल प्रहरी, २०० सशस्त्र प्रहरी, ५०० नेपाली सेना र ७७५ जना म्यादी प्रहरी परिचालन गरिएको छ ।

यस्तै मतदानको दिन बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएकाबाहेकको सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमन कर्ता लगायतका सवारीसाधनलाई अनुमति लिनु नपर्ने गरी व्यवस्था गरेको छ।’

मतदान सकिए लगतै सुरक्षित रुपमा मतपत्र ढुवानीको व्यवस्था मिलाइएको प्रजिअ घिमिरेको भनाई छ । निर्वाचनका लागि सुरक्षाको दृष्टिकोणले मतदानस्थलहरुलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा विभाजन गरिएको छ । जसअनुसार २१ वटा मतदानस्थल अति संवेदनशील, ४३ वटा संवेदनशील र १२ वटा सामान्य रहेका छन् ।

एक प्रतिनिधिसभा र दुई प्रदेश सभा क्षेत्र रहेको रुकुम पश्चिममा एक लाख चार हजार २८० मतदाता रहेका छन् । प्रदेशसभा क्षेत्र नं. १ मा ५२ हजार ८ जना र निर्वाचन क्षेत्र न. २ मा ५२ हजार २७२ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार