रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले हट लाईन सेवा सुरु गरेको छ । ३१ औँ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा शनिबारबाट हट लाईन सेवा सुरु गरेको हो।
“समावेशी विकासका लागि रुपान्तरित समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सृजनसिलताको प्रभाव” भन्ने मूलनाराका साथ मनाईएको दिवसका अवसरमा अपांगता भएका व्यक्तिहरुका साथै अन्य पिछडिएका वर्गको सहायताका लागि गाउँपालिकाले हट लाईन सेवा सूचारु गरेको हो ।
गाउँपालिकाको क्षेत्रभित्र रहेका अपांगता भएका व्यक्तिहरुका साथै हिंसा पिडित, तथा अन्य विभिन्न समस्यामा परेका सर्वसाधारणहरुले समस्या परेका बेलामा सिधै गाउँपालिका उपाध्यक्ष भूपेन्द्र बुढासँग जुनसुकै बेला पनि सम्पर्क गर्न सकिले गाउँपालिकाका लेखा प्रमुख नवराज खड्काले बताउनुभयो । जसका लागि गाउँपालिकाले ९८५१३४२१५५ हट लाईन नम्बर सुचारु गरेको उहाँको भनाई छ ।
बिभिन्न समस्यामा परेका सर्वसाधारणहरुको सहायताका लागि गाउँपालिका जुनसुकै समयमा पनि तत्पर रहेको पुथा उत्तरगंगा गाउँपालिकाले जनाएको छ ।


 
					
							
 
                             
                             
                             
                             
                            