भेरी पुलको ठेक्का तोडियो

भेरी पुलको ठेक्का तोडियो

रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी नदीस्थित निर्माणाधिन अलपत्र पुल ।

मुसिकोट । मध्यपहाडी लोकमार्गअन्तर्गतको  भेरी नदीस्थित रुकुम पश्चिम र जाजरकोट जोड्ने पुल निर्माण नहुँदा सम्झौता भएको १० वर्षपछि ठेक्का तोडिएको छ। जाजरकोटको भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसक्दा गत साता मात्रै ठेक्का तोडिएको हो।

चौरजहारी–जगतीपुर सडक योजनाअन्र्तगत भेरी नदिमाथिको पुल ठेकेदार कम्पनीलाई योजना कार्यालयले बनाउनका लागि २०७३ सालदेखि पत्रचार गर्दासमेत पुलको प्रगती नदेखिएपछि ठेक्का तोडिएको जनाइएको छ।

वर्षेनी पुल बनाउन पत्राचारदेखि राष्ट्रिय पत्रिकामा सूचना निकाल्दा समेत ठेकेदार कम्पनीले बेवास्था गरेका कारण ठेक्का सम्झौता तोडेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखका योजना प्रमुख युवराज पोखरेलले जानकारी दिनुभयो । योजना प्रमुख पोखरेलले भन्नुभयो, सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता अनुसार काम नगरेको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौताको शर्तअनुसार ठेक्का तोडिएको हो।’

योजना कार्यालयले २०६९ असार २९ गते वाईपि कन्ट्रक्सन प्राली ललितपुरसँग भ्याटसहित १४ करोड ८४ लाख २७ हजार ८ सय ८९ रुपैयाँ ५० पैसामा सम्झौता गरेको थियो। २०७३ चैत्र १० गतेसम्म १८ प्रतिशत काम गरेर २ करोड ७० भुक्तानी समेत लिइसकेको छ। २०७३ साल चैत्र १० गतेपछि काम नहुँदा भुक्तानी रोकिएको थियो।

हालसम्म पुल निमार्णको २५ प्रतिशत काम सम्पन्न भएको छ। ठेक्का सम्झौता तोडिएसँगै नयाँ ठेक्काको प्रकृया अगाडी बढाइएको राजमार्ग योजना प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

यस्तै पुलको काम नगर्ने कम्पनीलाई नियमअनुसार कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेर पठाएको छ । कम्पनीले पेश्की रकम २ करोड ६१ लाख लगेको थियो।

ठेकेदार कम्पनीको बैंक ग्यारेण्टी जफत गरेको र पेश्की रकम सरकारी पैसा चलाएवापतको १० प्रतिशत ब्याज कार्यालयमा जम्मा गर्न पत्रचार योजना कार्यालयले गरेको जनाएको छ। सम्झौता गर्दा ५ प्रतिशत कार्य सम्पादन जमानत ७४ लाख २२ हजारसमेत योजना कार्यालयले जफत गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार