चौरजहारी नगरपालिकाको १६ औं नगरसभा सम्पन्न

चौरजहारी नगरपालिकाको १६ औं नगरसभा सम्पन्न

मुसिकोट । चौरजहारी नगरपालिका रुकुम पश्चिमको १६ औ नगरसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम संशोधन, आर्थिक वर्ष २०७९/०८० को साउन १ गतेदेखि पुस ३० गतेसम्मको आय र व्यय सार्वजनिक गर्नुका साथै प्रगति समीक्षा गर्दै नगरसभा सम्पन्न भएको हो ।

नगरसभाले आर्थिक वर्ष २०७९/०८० को आर्थिक कारोबारको र अन्य विभिन्न समितिहरूले २०७९ साउनदेखि हालसम्म विभिन्न मितिमा बैठक बसी पारित गरेका विभिन्न कार्यक्रम, रकमान्तर, निर्णय, विविध, ऐन,नियम, कार्यविधि, निर्देशिका र अन्य कानुनको अनुमोदन समेत गरेको छ ।

सभामा चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय र सो अन्तर्गतका निकायले चालु आर्थिक वर्षमा सम्पादित कामको क्षेत्रगत प्रगति, चुनौती र सम्भावनाहरू प्रस्तुत गरिएको नगरप्रमुख पुष्प वादीले जानकारी दिनुभयो ।

नगरपालिकाको सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल व्यवसायको विवरणसहितको अद्यावधिक अभिलेख नगर सभाले अनुमोदन गरेको नगर प्रमुख वादीले उल्लेख गर्नुभयो ।

त्यसैगरि नगरसभाले सशस्त्र युद्ध सुरु भएको दिनको अवसरमा २०७९ फागुन १ गते चौरजहारी नगरपालिकामा सार्वजनिक बिदा दिने, नगरपालिका क्षेत्रभित्र  पूर्वाधार निर्माणको जिम्मेवारी लिइ ढिलासुस्ती गरिरहेका निर्माण व्यवसायीहरूलाई तत्काल कामलाई तिव्रता दिन दवाव दिने जस्ता निर्णयहरु समेत गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार