मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले सञ्चालन गर्दै आएको मौराखारा गुरिल्ला म्याराथन यो वर्ष पनि सञ्चालन हुने भएको छ । गाउँपालिकाले हरेक वर्षको फागुन १ गते जनयुद्ध दिवस पारेर गुरिल्ला म्याराथन सञ्चालन गर्दै आएको छ ।
गत वर्ष कोभिड–१९ का कारण म्याराथन हुन सकेको थिएन् । पाँचौ संस्करणका रुपमा सञ्चालन हुने लागेको म्याराथन प्रतियोगिता सानीभेरी गाउँपालिकाको आयोजना र युवा खेलकुद विकास समिति सानीभेरीको सह–आयोजनामा सञ्चालन हुन लागेको हो ।
४६ किलोमिटर दुरि रहेको पुरुष म्याराथनको विजेताले नगद १ लाख पुरस्कार पाउने आयोजक सानीभेरी गाउँपालिकाले जनाएको छ । दोस्रोले ७५ हजार पुरस्कार पाउँदा तेस्रो हुनेले ४५ हजार र चौंथो हुनेले १५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको दशौं स्थानसम्म हाँसिल गर्ने प्रतियोगीले जनही ३ हजार पुरस्कार पाउने गाउँपालिकाको भनाई छ ।
त्यस्तै २१ किलोमिटर दुरिमा संचालन हुने महिला गुरिल्ला म्याराथनको विजेता पुरस्कार नगद ६० हजार तोकिएको छ । दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १० हजार र दशौं स्थान सम्मकालाई जनही ३ हजार प्रदान गरिने छ ।
गाउँपालिकाले तत्कालीन माओवादी लडाकूहरुले प्रयोग गरेको बाटोमा म्याराथन सञ्चालन गर्दै आएको छ । मौराखारा तत्कालीन माओवादीले लडाकू उत्पादन गर्न प्रयोग गरेको ठाउँ हो । गाउँपालिकाले यही ठाउँको नामबाट म्याराथनको नामाकरण गरेको हो ।