रुकुम महोत्सवमा पुगेका अभिनेता पल शाहलाई हेर्न दर्शकको भिड

रुकुम महोत्सवमा पुगेका अभिनेता पल शाहलाई हेर्न दर्शकको भिड

अभिनेता पल शाह कारागारमुक्त भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् । दुई साताअघि कारागारबाट रिहा भएका शाहले बुधवार रुकुम पुगेर त्यहाँ जारी रुकुम महोत्सवमा उपस्थिति जनाएका हुन् ।

उनी एक वर्षभन्दा लामो समयपछि यसरी महोत्सवमा पुगेर दर्शकसँग साक्षात्कार गरेका हुन् ।

रुकुमपश्चिममा जारी ‘रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव’को छैटौ दिनको मुख्य आकर्षकका रुपमा पुगेका शाहलाई हेर्न फ्यान एवं दर्शकहरुको बाक्लो उपस्थिति थियो । रुकुम उनको गृह जिल्ला दाङको छिमेकी जिल्ला पर्छ ।

‘नमस्कार सबैलाई । सन्चै हुनुहुन्छ रु’ भन्दै स्टेजमा उक्लिएका उनको उपस्थितिमा दर्शकहरुले चर्को हुटिङ गरेका थिए । त्यहाँ उनले आफ्नो एक वर्षे जेल जीवनबारे अनुभव सेयर गरे । चाँडै म्युजिक भिडियोमार्फत अभिनयमा फर्किन लागेको उनले दर्शकलाई जानकारी गराए । उनले आफू अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरि’बोलको गीतमा स्टेजमा नृत्य गर्नुका साथै उक्त गीत थोरै गुनगुनाएर समेत सुनाएका थिए ।

उनी हेलिकोप्टरमार्फत बहिनी रोशनीसँगै रुकुम पुगेका थिए । आयोजकले नै उनको लागि हेलिकोप्टरको व्यवस्था गरेको थियो । उनी बुधवार नै काठमाडौं फर्किने बताइएको छ ।

एक नाबालिगलाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो ।

जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन दिएका थिए । जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो । उच्च अदालत पोखराले पनि सफाइ दिएसँगै उनी कारागारबाट रिहा भएका थिए ।

“रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुमपश्चिमको सह–आयोजनामा रुकुम महोत्सव सञ्चालन भईरहेको छ । महोत्सव चैत्र ७ गते सम्म चल्ने बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार