गाउँमै पुगेर योजना सम्झौता

गाउँमै पुगेर योजना सम्झौता

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले गाउँमै पुगेर योजना सम्झौता गर्ने कामको सुरुवात गरेको छ । लाभग्राहीहरूको सहजताका लागि नगरपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रममा आबद्ध हुन छनोट भएका लाभग्राहीहरूसँग गाउँमै पुगेर योजना सम्झौताको सुरुवात गरेको हो ।

नगरपालिकाले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत छनौट भएका लाभग्राहिहरुको सहजताको लागि वडामै गएर सम्झौताको सुरुवात गरेको नगरपालिकाले जनाएको छ ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय प्रमुख शेरप्रसाद ढकालले आज नगरपालिकाको वडा नम्वर १३ मा पुगेर कार्यक्रम कार्यान्वयनको लागि सम्झौताको सुरुवात गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनका लागि छनौट भएका १३ नम्वर वडाका ४९ घरपरिवारसँग सम्झौता गर्नुका साथै ३७ जना लाभग्राहीको बैंक खाता सञ्चालन गरिएको छ ।

नगर कार्यपालिकाको कार्यालयबाट खटिएको टोलीले निरन्तर अन्य वडामा पुगेर सम्झौताको काम गर्ने बताईएको छ । वडा सिफारिस, फोटो प्रिन्ट, प्राविधिक लागत इस्टिमेट, सम्झौता, बैंक खाता सञ्चालन लगायतका सेवाहरू गाउँमै पुगेर एकै ठाउँबाट प्रदान गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो ।

गाउँमै एकिकृत सेवा प्रवाहका लागि नगरपालिकाले पूर्वाधार विकास शाखा, नेपाल बैंक लिमिटेड, प्रवेश फोटो एण्ड प्रिन्टर्स लगायतसँग सहकार्य गरेको थियो ।

यस्तै चौरजहारी नगरपालिकाले अघि सारेको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत यस वर्ष २३० वटा घर खरका छानामुक्त बनाउन लागेको छ । पानी चुहिने, हावाहुरी र आगलागीको जोखिममा रहेका नागरिकका घर छनौट गरेर टिनको छाना राख्न लागेको नगरपालिकाले जनाएको छ । यसको लागि नगरपालिकाले एक घरलाई ५० हजार रुपियाँ सहयोग गर्ने बताईएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार