एसइईका लागि रुकुम पश्चिममा केन्द्राध्यक्षलाई अभिमुखीकरण

एसइईका लागि रुकुम पश्चिममा केन्द्राध्यक्षलाई अभिमुखीकरण

मुसिकोट । माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि रुकुम पश्चिममा विभिन्न परीक्षा केन्द्रका लागि नियुक्त गरिएका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले आज (एसइई) परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि केन्द्राध्यक्षहरुलाई एकदिने अभिमुखीकरण तालिम दिएको हो ।

केन्द्राध्यक्षहरुलाई परीक्षा सञ्चालन, प्रश्नपत्र ढुवानी, परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन अभिमुखीकरण तालिम दिइएको शिक्षा विकास तथा समन्वय इकाई  प्रमुख तारा प्रकाश पुनले जानकारी दिनुभयो ।

माध्यमिक शिक्षा परीक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा २३ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षकहरुलाई परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित वातावरणमा सञ्चालन गर्न प्रजिअ पन्तले सुझावसहितको निर्देशन दिनुभयो ।

त्यस्तै केन्द्राध्यक्षहरुलाई परीक्षा लागि आवश्यक पर्ने सामग्री समेत हस्तान्तरण गरिएको जनाएको छ । अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, तीन वटै सुरक्षा निकायका प्रमुख, परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको सहभागिता रहेको थियो ।

आगामी चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुकुम पश्चिमबाट चार हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार साधारणतर्फ ४ हजार ९३ जना, प्राविधिक तर्फ ८१ जना र ग्रेड वृद्धितर्फ ४२ जना गरी कुल ४ हजार २१६ जना विद्यार्थी सहभागी हुने छन ।

परीक्षामा जिल्लाका ७६ वटा सामुदायिक, १ खुल्ला र ५ वटा संस्थागत विद्यालय गरी ८२ वटा विद्यालयहरूबाट विद्यार्थीहरू सहभागी हुने छन् ।

परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मी खटिने जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार