मुसिकोट । रुकुम पश्चिममा अवैध रुपमा गरिएको अफिम खेती प्रहरीले नष्ट गरेको छ। शनिबार जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १३ स्थित विभिन्न ठाउँमा गरिएको लागुऔषध अफिम खेती प्रहरीले आज नष्ट गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार छुट्टाछुट्टै स्थानमा गरेर करिब ९ कठ्ठा जग्गामा लगाईएको अफिम खेती नष्ट गरिएको हो ।
ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरिक्षक बिक्रम सुवेदीको नेतृत्वको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको हो । डिएसपी भट्टराईका अनुसार अफिम खेती भईरहेको बिशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको हो ।
यस्तै नागरिकमा अफिमबारे राम्रो ज्ञान नहुँदा खेति गर्नेहरुको संख्या बढेकोले जिल्लाभर चेतनामुलक अभियान संचालन गर्ने प्रहरीले जनाएको छ ।
