एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन

एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सोमबारदेखि लागू हुनेगरी समर्थन फिर्ता लिइएको एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले जानकारी दिए।

यसअघि आइतबार सुरूमा सरकार गठन गर्दा मन्त्री बनेका तीन जनाले पदबाट राजीनामा दिएका थिए।

शर्मा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएका थिए।

उनीहरूले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा मुख्यमन्त्रीलाई काम गर्न सहजता प्रदान गर्ने उद्देश्यले राजीनामा दिएको बताएका थिए।

नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ।

यसअघि फागुन १८ गते राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले चैत १७ गते दोस्रोपटक विश्वासको मत लिएका थिए।
त्यसबेला राप्रपाबाहेक एमाले, कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले उनलाई विश्वासको मत दिएका थिए।

४० सदस्यीय कर्णाली प्रदेश सभामा राप्रपाका एक जना सांसद छन्। एमालेका १० जना सांसद छन्। यस्तै, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, समाजवादीका १ र स्वतन्त्र एक जना सांसद छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार