मुसिकोट । रुकुम पश्चिमको रेडियो सानोभेरी एफ.एम. ले आफ्नै भवनबाट प्रशारण सुरु गरेको छ ।
आईतबारबाट मुसिकोट नगरपालिका १ स्थित आफ्नै भवनबाट रेडियोले प्रशारण सुरु गरेको हो । २०६४ सालबाट प्रशारण सुरु भएको रेडियोले १५ वर्षपछि आफ्नै भवन निर्माण गरेर प्रशारणलाई निरन्तरता दिएको हो ।
रेडियोको गृह प्रवेश कार्यक्रममा बोल्नुहुँदै कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले संचार जगत जनताको अधिकार रक्षा गर्ने अघोषित सेना भएको बताउनुभयो । उहाँले जनअधिकारको वकालत गर्न र समाजलाई सूसुचित गर्न सञ्चार माध्यामले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको उल्लेख गर्नुभयो । गलत सूचना प्रवाहबाट जोगिएर तथ्य खबर प्रशारण गर्नु सञ्चार माध्यामको दायीत्व भएको जनाउँदै प्रदेश सभा सदस्य केसीले जनचेतना फैलाउन सञ्चारमाध्याम अग्रभागमा रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काले समाज रुपान्तरणको क्षेत्रमा मिडियाको भूमिका महत्वपूर्ण रहेकोले जनतालाई सहि, सत्य सूचना दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले मुलुकको परिवर्तनको लागि सञ्चार माध्यामको भूमिका प्रशंसनिय रहेको बताउनुभयो । उहाँले सरकारले मिडिया क्षेत्रलाई सहयोग गर्नुपर्ने र सञ्चार माध्यामको विकासमा सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।
गृह प्रवेश कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक ध्रुव बिक्रम बुढाथोकीले भवन निर्माणको लागि प्राप्त भएको रकम र रेडियोको प्रशारण अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार हालसम्म भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट ९० लाख र खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयबाट चार लाख आठ हजार प्राप्त भएको छ ।
पाँच तले भवनको ईष्टिमेट तयार गरिएको भएतापनि बजेट अभावको कारण हाल दुई तला सम्म मात्रै भवन निर्माण गरिएको प्रबन्ध निर्देशक बुढाथोकीले जानकारी गराउनुभयो । रेडियो सानोभरी एफएम १००.८ र ८९.२ मेघाहर्जबाट प्रशारण हुँदै आएको छ ।
रेडियो सञ्चालक समितिका अध्यक्ष गोबिन्द रोकाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजिकरण पत्रकार देवकुमार ओलीले गर्नुभएको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश केसी, मुसीकोट नगरपालिकाका उपप्रमुख बिमलकुमार पुन, सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका, निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराई, सशस्त्र प्रहरीका प्रमुख डिएसपी गोबिन्द केसी, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।