रुकुमकोट । रुकुम पूर्वमा आज विभिन्न कार्यक्रम आयोजना गरेर विश्व वातावरण दिवस मनाईएको छ । डिभिजन वन कार्यालय रुकुम पूर्वको आयोजनामा
‘प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौ : वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने मूल नाराका साथ दिवस मनाईएको हो ।
दिवसका अवसरमा सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित कमलदह वरिपरि सरसफाई र रुक्मिणी माध्यामिक बिद्यालयको परिसरमा बिभिन्न दश प्रजातीका दुई सय बिरुवा रोपिएको डिभिजन वन कार्यालयका रेन्जर बिश्व केसीले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयबाट प्राप्त भएका उक्त बिरुवा रोपन कार्य जिल्लास्थित सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुखहरुको उपस्थितीमा सम्पन्न गरिएको छ ।
वृक्षारोपण कार्यमा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठ, उप-प्रमुख मोहन बहादुर केसी, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख, शिक्षक, बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।
त्यसैगरी प्लाष्टिकजन्य सामाग्रीको न्यून प्रयोग तथा यसको व्यवस्थापन, जंक फुडको प्रयोगले पर्न जाने असर लगाएतका बारेमा पनि बिद्यालयमा अध्ययनरत बालबालिकालाई जानकारी गराईएको छ ।
दिवसकै अवसर पारेर आजै पर्यटकीय क्षेत्र कमलदहमा वन कार्यालयको सहयोगमा निर्माण गरिएको सेल्फी स्पोर्टको पनि उद्धघाटन गरिएको डिभिजन वन कार्यालयका रेन्जर केसीले जानकारी दिनुभयो ।





