सहर जाँदा हाेटल साहु टक्र्यायाे चम्चा लाै
हातले खाने परेकाे बानी अति नै भयाे धाै ।
हातैले खाउँ मुछेर खाना भइन्छ पाखे नै
चम्चाले खाउँ कसरी खाउँ चलनै छैन है ।
भाेकाे छ तन दाेधारे मन खाने हाे कसरी
पन्छाई चम्चा हातैले खाएँ कतै नि नहेरी ।
खाएकाे मैले देखेर दङ्ग परेछ साहुजी
चम्चाले खाना खाइन मैले भाउ नै नदिई।
हातैले खाना खाएनी मैले चम्चाकै कुराले
चम्चाकाे जादु के छ त भनी मनमा उरालें ।
मनले गुन्दा चम्चाकाे चटक् गजबै लाग्याे नि
चम्चाले खाना नखाए पनि नभई नहुनी ।
घरमा आई एकेक हेरें भान्सा र काेठामा
चम्चा नै चम्चा भएकाे देखें हरेक चाेटामा ।
नतिजा बुझ्न लागेन बेर आँखैले देखियाे
चम्चाकाे शक्ति बुझेरै यति कविता लेखियाे ।
भरिलाे भाँडाे देखियाे कि त उधिन्दाे रहेछ
रित्तिए पछि भाँडाकाे वस्तु नचिन्दाे रहेछ ।
जसमा बस्याे त्यसकै क्षति नपारी नछाड्ने
सित्तैमा पाए अरूकाे केही नचाखी नछाड्ने ।
घिउमा यही महमा यही नुनमा यही छ
बेसार जिरा मसलातिर यही नै यही छ ।
पाकेको अन्न मुखमा च्याप्प यसैले लैजान्छ
त्यसैले हाेला सबैकाे प्याराे चम्चा नै भैजान्छ
धीरता कैले रहन्न यसमा चञ्चले बानी छ
यता र उता जतानि ठिक्क तत्कालै भैहाल्छ
हुँदैन देख्न ठुला र बडा यिनकै साथमा
अघि र पछि छाड्दैन पिछा दिन र रातमा ।
नहुने काम भए नि गर भन्दछ सुटुक्क
पारेर भाँजो भाँडेर काम भाग्दछ लुतुक्क ।
चम्चाकाे काम चम्चाकाे नाम विचित्र जादु छ
किन हाे कुन्नि मानव जात चम्चाकै काबु छ ?
राम प्रसाद पन्थी