द्वापरमा कस्ता थिए भक्त हनुमान
कस्ता भए कलियुगे आज हनुमान ?
कहन्छु म गाथा यहाँ हनुमानजीकाे
कलियुगे हनुमान ठाने ठानून् तीताे ।
हिजाे राम एक थिए एकै हनुमान
आज राम धेरै भए धेरै हनुमान ।
हिजाे थिए हनुमान वीर बलशाली
आज भने हनुमान भए महाजाली ।
हिजाे थिए हनुमान प्रभु आज्ञाकारी
आज बने हनुमान आफै प्रभुसरी ।
प्रभु फेर्दै हनुमान डुल्छन् यता उता
सत्य कुरा छँदै छैन बाेल्छन् सधै झुटा ।
सङ्कटमा साथ दिन्थे हिजाे हनुमान
सङ्कटमा पारी दिन्छन् आज हनुमान ।
हिजाे लाेभ पाप मुक्त थिए हनुमान
लाेभी पापी हुँदै गए आज हनुमान ।
दया, दान ,धर्म वीर थिए हनुमान
काम,क्राेध,माेह युक्त भए हनुमान।
अधर्मकाे विरूद्धमा लडे हनुमान
धर्म मास्नेसितै मिल्छन् आज हनुमान ।
नारीलाई सीता माता मान्थे हनुमान
नारी भाेग्या वस्तु ठान्छन् आज हनुमान ।
कन्दमुल फल,फूल खान्थे हनुमान
धन मात्रै खान खाेज्छन् आज हनुमान ।
हिडेपछि पश्चगामी पथ आज राम
उसै गरी हनुमान भए बदनाम ।
बजरंगी बाहुबली सच्चा हनुमान !
नक्कलीकाे हाेस हर्ने देऊ वरदान ।
राम प्रसाद पन्थी