भूमे साँस्कृतिक महोत्सव (फोटो फिचर)

भूमे साँस्कृतिक महोत्सव (फोटो फिचर)

फोटो सौजन्य: स्वतन्त्र राज चौधरी ।

रुकुमकोट । रुकुम पूर्वको भूमे गाउँपालिकामा चौथो भूमे साँस्कृतिक महोत्सब सुरु भएको छ । भूम्या पर्वका अवसरमा “हाम्रो भूमे हाम्रो पहिचान, स्थानीय भाषा कला संस्कृतीलाई जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मुल नाराकासाथ शनिबार गाउँपालिकको खाबाङमा एक कार्यक्रमका बिच महोत्सव उद्धघाटन गरिएको हो । महोत्सवको जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले उद्धघाटन गर्नुभएको छ ।

आईतबार देखि विभिन्न विधाका नाच एवम् गीतमा प्रतिस्पर्धा गराउने आयोजकले जनाएको छ । भूमे, नचारु, मयुर, पैसेरु (डिग्रे), फाँक, झोरेल्नी, सिङगारु गरी ७ विधाका नाच र एक लस्के गीतमा खुला प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

भूमे नाचमा प्रथम हुने समूहलाई नगद एक लाख पुरस्कार पाउने छन् । दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वना समूहले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै नचारु नाचमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः ७५, ५०, ३० र १५ हजार नगद प्राप्त गर्ने छन् । मयूरमा प्रथम आउने समूहले ५०, दोस्रोले ३०, तेस्रोले २० र सान्त्वना हुने समूहले १० हजार नगद पाउने छन् ।

यसैगरि पैसेरु, फाँक, झोरेल्नी, सिङगारु र लस्केमा प्रथम आउने समूहले ३०, दोस्रोले २०, तेस्रोले १० तथा सान्त्वना हुने समूहले ५ हजार नगद पुरस्कार पाउनेछन् ।

महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समितिका  प्रमुख मेघबहादुर श्रेष्ठले कला संस्कृति, भाषा, भेषभुषालाई संरक्षण गर्नुपर्ने बताउनुभयो । कला संस्कृतिको धनी जिल्ल्ला रुकुम पूर्वको आफ्नो छुट्टै पहिचान भएको उहाको भनाई छ ।

यस्तै भूम्या पर्वका अवसरमा गाउँपालिकाले आयोजना गरेको ५२ किलोमिटरको गुरिल्ला अल्ट्रा ट्रेल रेसमा पुरुषतर्फको उपाधि रुकुमपश्चिमको सानीभेरी गाउँपालिका– ३ का भुवन ओली र महिलातर्फ भने सोलुखुम्बुकी अनिता राई विजेता हुुनुुभएको छ।

गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय उप-प्रमुख मोहन बहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढा, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, भूमे गाउँपालिका पूर्व अध्यक्ष रामसुर बुढा मगर, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय लगायतको आतिथ्यता रहेको थियो ।

गाउँपालिका उपाध्यक्ष सविना बुढाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन चन्द्र रसाइलिले गर्नुभएको थियो ।

फोटोहरु दिलचन पुनको फेसबुकबाट :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार