विद्यालय बन्दको कार्यक्रम स्थगित

विद्यालय बन्दको कार्यक्रम स्थगित

फाईल फोटो ।

विद्यालय कर्मचारीले घोषणा गरेको देशभरका सामुदायिक विद्यालय बन्द सहितको आन्दोलनको कार्यक्रम स्थगित भएको छ ।

विद्यालय कर्मचारीले आइतबारदेखि सामुदायिक विद्यालय बन्दको कार्यक्रम घोषणा गरेका थिए । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघका अध्यक्ष राशिकुमार केसी र नेपाल विद्यालय कर्मचारी युनियनका अध्यक्ष कमलप्रसाद खतिवडाले आईतबार विज्ञप्ति जारी गरेर विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि फिर्ता भएको जनाएका हुन् ।

उचित पारिश्रमिक र दरबन्दीको माग गर्दै जेठ १५ यता विद्यालय कर्मचारी आन्दोलनमा छन् । सामुदायिक विद्यालयका लेखाशाखाका कर्मचारी र कार्यालय सहयोगीहरु कामकाज छाडेर आन्दोलनमा थिए । देशभर ३५ हजार यस्ता कर्मचारी रहेका छन् । सरकारले लेखा शाखामा काम गर्नेलाई मासिक साढे १३ हजार र कार्यालय सहयोगीलाई ८ हजार मात्रै पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

पारिश्रमिकमा असुन्तष्टि जनाउँदै उनीहरुले गत वर्ष पनि विद्यालय बन्दसम्मको आन्दोलनको कार्यक्रम गरेका थिए । त्यतिबेला शिक्षा मन्त्रालयसँग माग बजेटमार्फत पूरा गर्न सहमति भएको थियो । तर आर्थिक वर्ष २०८०/०८१ को बजेटमा उक्त कुरा सम्बोधन नभएपछि आन्दोलनको घोषणा गरिएको परिषद्का महासचिव शान्तिराम योगीले जनाए । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भने विद्यालय कर्मचारीको सेवासुविधा सम्बोधन गरिने उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार