लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया

रुकुुम पश्चिममा

लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया

रुकुुम पश्चिममा

मुसिकोट । रुकुम पश्चिममा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको आयोजनामा सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा जिल्लामा लागू औषधको वर्तमान अवस्था, नियन्त्रणको प्रयास र सरोकारवालाहरुका सुझाव समेटिएको कार्यपत्र प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा जिल्लामा अफिम र गाँजा खेती धेरै हुने गरेको उल्लेख गरिएको छ । यस्तै विभिन्न समयमा गरेर जिल्लाका विभिन्न क्षेत्रहरुबाट १ सय ५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको डिएसपी भट्टराईले जानकारी गराउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले लागू औषध नियन्त्रणका लागि सरोकारवाला सबैको जिम्मेवारी रहेको र यसका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले जिल्लाका सबै स्थानीय तहहरुले लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी  एक/एक जना काउन्सिलरको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले लागू औषध दुर्व्यसनीमा फसेकाहरुको लागि जिल्लामा एउटा सुधार गृहको आवश्यकता रहेको बताउनुभयो । उहाँले लागू पदार्थको दुव्र्यशनीमा फसेकालाई जिल्लामै सुधार गृहमा राख्न सक्ने व्यवस्था भएमा सहज हुने बताउनुभयो । यसका लागि आफुहरु तयार रहेको र जिल्लास्थित अन्य सरोकारवालाहरु पनि तयार हुनुपर्ने उहाँको भनाई छ ।

यस्तै लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जिल्लामा भब्यताका साथ मनाउने निर्णय गरिएको छ । जिल्लामा लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन हुने प्रमुख जिल्ला अधिकार हरिप्रसाद पन्त बताउनुभयो । उहाँका अनुसार स्थानीय तह र शिक्षा विकास तथा समन्वय ईकाइको समन्वयमा जिल्लाका विद्यालयहरुमा लागू औषध नियन्त्रण सचेतना मूलक कार्यक्रमहरु सञ्चालन गरिने छ ।

हरेक वर्षको जुन २० देखि जुन २६ सम्म लागू औषध नियन्त्रण सप्ताह संचालन हुने गरेको छ ।

प्रमुख जिल्ला अधिकार हरिप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले गर्नुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार