मुसिकोट । रुकुम पश्चिममा पहिलो पटक ब्लड बैंक संचालनमा ल्याएको छ । बिरामीहरुलाई रगतको सहज ब्यवस्थाका लागि जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर १ नाखिरामा ब्लड बैंक सञ्चालनमा ल्याएको हो । यससँगै रगतको अभावमा ज्यानै जानेसम्मको अवस्था अन्त्य हुने आशा गरिएको छ ।
सोमबार एक कार्यक्रमका बिच चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले ब्लड बैंकको उद्घाटन गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी उप शाखाको पहल र चौरजहारी नगरपालिकाको आर्थिक सहयोगमा जिल्लामा पहिलो पटक ब्लड बैंक संचालनमा ल्याएको उप शाखाका कोषाध्यक्ष गोपाल लामिछानेले जानकारी दिनुभयो । उप शाखाको आफनै भवनवाट उक्त सेवा संचालन गरिएको छ।
कोषाध्यक्ष लामिछानेका अनुसार ब्लड बैंक सञ्चालनको लागि हालसम्म करिब ५५ लाख रकम खर्च भएको छ । भवन निर्माणमा २८ लाख खर्च भएको छ भने बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उहाँको भनाई छ
जिल्लामा ब्लड बैंक नहुँदा बिरामीहरुलाई रगतको अभाव हुने गरेको छ । जिल्ला अस्पताल सल्ले, चौरजहारी अस्पताल लगायतका अस्पतालमा बिरामीहरुको लागि आवश्यक पर्ने रगत जुटाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्यलाई गुहार्नुपर्ने अवस्था रहेको थियो ।
अब रगतको लागि उक्त समस्या नहुने विश्वास लिइएको छ । ब्लड बैंकमा दाताबाट संकलित रगत ३५ दिनसम्म दुई सय पोका रगत सुरक्षित भण्डारण गरेर राख्न सकिने जनाइएको छ । आज पहिलो दिन १२ जनाले रक्तदान गरेका छन ।





