रुकुम जिल्ला अदालतले एक वर्षमा ४३७ मुद्धा फैसला गर्यो

रुकुम जिल्ला अदालतले एक वर्षमा ४३७ मुद्धा फैसला गर्यो

मुसिकोट । रुकुम जिल्ला अदालतले एक वर्षमा ४३७ वटा मुद्दा फैसला गरेको छ । आर्थिक वर्ष ०७९/८० मा अदालतमा दर्ता भएका ६०३ वटा मुद्धाहरु मध्य ४३७ मुद्धा फैसला भएको जनाएको छ ।

रुकुम जिल्ला अदालतका निमित्त श्रेष्तेदार लक्ष्मण बिकका अनुसार ३०२ वटा देवानी र १३५ वटा फौजदारी मुद्धा फैसला भएका हुन् । त्यसैगरी दुई वटा पुनरावेदन अन्तर्गतका मुद्धा पनि फैसला भएका छन् ।

निमित्त श्रेष्तेदार विकका अनुसार ९९ वटा देवानी र ६७ वटा फौजदारी गरेर १६६ वटा मुद्धा भने फैसला हुन बाँकि रहेका छन् । यी मुद्धा चालु वर्षमा जिम्मेवारी सरेर आएका छन् । जम्मा ६०३ वटा मुद्धा आएकोमा ४०१ वटा देवानी, २०२ मुद्धा फौजदारी रहेका छन् । दुई वटा मुद्धा भने पुनरावेदन तर्फका छन् ।

यस्तै रुकुम जिल्ला अदालतमा जम्मा भएका कुल मुद्धा मध्य २३० वटा मुद्धा अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएका थिए । अघिल्लो वर्ष लगत सरिआएमा मुद्धा मध्य १३६ वटा देवानी, ९४ वटा फौजदारी र दुई वटा पुनरावेदन तर्फका मुद्धा रहेका छन् । यस वर्ष भने अदालतमा २६५ देवानी र १०८ वटा फौजदारी तर्फका मुद्धा दर्ता भएको निमित्त श्रेष्तेदार बिकले उल्लेख गर्नुभयो ।

अदालतको अभिलेखमा रहेका २७३ वटा सम्बन्ध बिच्छेदका मुद्धा मध्य दुई सय वटा फैसला भएका छन् भने ७३ वटा फैसला हुन बाँकि रहेका छन् । गत आर्थिक वर्षमा पारिवारीक विवादका मात्र ३२४, सम्पत्ति सम्बन्धी ७७ मुद्धा दर्ता भएका थिए । जसमध्य २४१ वटा पारिवारीक विवाद र ६० वटा मात्र सम्पत्ति सम्बन्धीका मुद्धा फैसला भएका छन् ।

अदालतमा जबरजस्ती करणीका २६ वटा, हाडनाता करणीका दुई वटा, जबरजस्ती करणी उद्योगका आठ वटा र बाल यौन दुरुपयोगका एक वटा गरेर ३७ वटा मुद्धा दर्ता भएका थिए । जसमध्य २४ वटा मुद्धा फैसला भैसकेका छन् । अदालतमा ३१ वटा चेक अनादरको मुद्धा दर्ता भएकोमा २१ वटा फैसला भएका छन् ।

अघिल्लो आर्थिक वर्षमा रुकुम जिल्ला अदालतले ६५.३० प्रतिशत मुद्धा फैसला गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार