भूमिका गिरीको ‘उजेली जुनेली’ सार्वजनिक (भिडियोसहित)

भूमिका गिरीको ‘उजेली जुनेली’ सार्वजनिक (भिडियोसहित)

चर्चित लोकगायिका तथा मोडेल भूमिका गिरीको तीजको कोसेली ‘उजेली जुनेली’ सार्वजनिक भएको छ । हरितालिका तीजको सङ्घारमा गायिका गिरीले ‘उजेली जुनेली’ सार्वजनिक गरेकी हुन् ।

प्रायः तीजका गीतमा पछिल्लो चरणमा मायाप्रेमका कथा बुन्न थालिएको अवस्थामा गायिका भूमिकाले चेलीबेटीका पीडा र समाजको बिम्बबोध गराउने गीत लिएर आएकी छिन् । समयको परिवर्तनसँगै समाजको शैली, मानिसको जीवन शैली पनि बदलिएको छ । बदलिँदो जीवनशैलीसँगै अध्ययन तथा रोजगारका लागि विदेशिने नेपालीको सङ्ख्या पनि ह्वात्तै बढेको छ ।

लाखौँ नेपाली युवा विश्वबजारमा श्रम बेचिरहेका तीतो यथार्थ छर्लङ्ग छ । विदेशबाट स्वदेशमा तीज मनाउन बिदामा आएकी साथीसँग मनको गथासो पोखिएको कथामा बुनिएको गीतले नेपाली समाजको बिम्ब देखाएको छ । वैदेशिक जीवनको भ्रम र सत्यलाई चिर्ने गीतका टुक्काले विदेशी जीवनको कठिनाइका भावलाई जीवन्त देखाएका छन् ।

विदेशतिर बस्ने मान्छे कहिले आइस् देशमा
जातिबिति राम्री देख्छु के लाइछेस् र फेसमा

गीतको पहिलो टुक्काले वैदेशिक जीवनप्रतिको आकर्षण देखाएको छ । वैदेशिक रोजगारमा रहनेहरूको जीवन सुखी देख्नु, उनीहरू सुकिलामुकिला देखिनुका कारण वैदेशिक रोजगारप्रति

नेपाली समाजमा आकर्षण बढ्दै गएको छ ।
चुम्बकजस्तो हुँदो रैछ विदेशीको डलर
केको राम्रो हुनु बाबै बिग्रियो नि कलर

प्रतिउत्तरमा आएको यो टुक्काले वैदेशिक जीवनको पीडा बोलेको छ । जीवनका रँग बदल्न विदेश गएकाहरूको तनको रँग बिग्रने गरी काम गर्नु परेको पीडा पोखिएको छ । नेपाली सङ्गीतमा आएको परिवर्तनसँगै मर्म भुल्दै गएका तीजका भाकालाई गायिका गिरीले लयमा फर्काउने प्रयास गरेकी छिन् ।

मायाप्रेमका गीतले नै तीज गीतका बजार पिटिरहेका बेला तीजको मौलिकपन र मर्मको नजिक रहेर गीत सार्वजनिक गर्दा सकारात्मक रेस्पोन्स पाएको गायिका गिरीले बताइन् । ‘तीजका गीतमा मौलिकपन हराउँदै जान थालेको बेला एउटा रिस्क उठाएरै काम गरेका छौँ । व्यावसायिकभन्दा पनि तीज गीतका मर्मलाई संरक्षण गर्नुपर्छ भन्ने मान्यता हाम्रो टिमको छ । जहाँ पनि रमाउन सकिन्छ भन्ने सन्देशको गीत बनाउने प्रयास गरेका हौँ’, गायिक गिरीले भनिन् ।

नेत्र अर्यालको शब्दमा खेम सेञ्चुरीले सङ्गीत भरेका छन् । गायिका सुनिता बुढा क्षेत्री र भूमिका गिरीको स्वर रहेको गीतलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेकी छिन् । राजेश घिमिरेले छायाँङ्कन गरेको भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका छन् । म्युजिक भिडियोमा जुनेलीको रोलमा भूमिका गिरी छिन् भने उजेलीको रूपमा पुजन घिमिरे रहेकी छिन् । म्युजिक भिडियोमा दीप सागर छन् ।

हेर्नुहोस् भिडियोः

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार