प्रहरीले ९ हजार हतियारमा आगो लगायो

प्रहरीले ९ हजार हतियारमा आगो लगायो

नेपाल प्रहरीले झन्डै ९ हजार हातहतियार नष्ट गरेको छ। विभिन्न मिति र स्थानबाट जफत एवं बरामद भएका हातहतियारहरूलाई बुधबार नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार कुल ८ हजार ८९६ वटा हतियार नष्ट गरेको हो।

६ हजार ७४ वटा भरुवा बन्दुक, १७७ वटा बाह्र बोर, विभिन्न प्रकारका १ हजार ७६ वटा पेस्तोल, २३२ वटा म्याग्नम, २९ वटा एयर गन नष्ट गरेको हो।

त्यस्तै, २२९ सर्ट गन, ६२६ वटा थ्रीनटथ्री राइफल, ३३४ वटा रिभल्भर, १० वटा ग्यास गन, २५ वटा हर्नेट र नाम नखुलेको ८४ थान हतियार नष्ट गरिएको हो।

काठमाडौं महानगरपालिका ११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा नष्ट गरिएको हो।

हातहतियार, खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८ ९३० बमोजिम नष्ट गरिएको प्रधान कार्यालयले जानकारी दिएको छ। हतियारमा रहेका फलामलाई पत्रु बनाइएको थियो।

नष्ट गर्दा प्रधान कार्यालय कार्यविभागका एआइजी मिरा चौधरीसहित गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवं स्थानीय प्रतिनिधि र बुढानीलकण्ठ नगरपालिका ११ का वडाध्यक्ष समेत उपस्थित थिए।

यसरी हातहतियारहरूको दीर्घकालीन व्यवस्थापन गर्न प्रधान कार्यालयले एआइजी चौधरीको अध्यक्षतामा प्राविधिक टोली बनाएको थियो। उक्त टोलीले जेठ २३ र असार २६ गते कानुनी प्रक्रिया अनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार