मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ चौतारास्थित महेन्द्र माध्यामिक विद्यालयमा विज्ञान प्रदर्शनी भएको छ । विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुद्वारा निर्मित विज्ञान सँग सम्बन्धित विभिन्न बहुउपयोगी उपकरणहरुको प्रदर्शनी गरिएको हो।
मंगलबार विद्यालय परिसरमा विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीले ७ दिन लगाएर तयार गरेको विज्ञान र प्रविधिसँग जोडिएका सामाग्रीहरु अवलोकनका लागि राखिएको थियो ।
विज्ञान पुस्तकमा अध्ययन गरेका सैद्धान्तिक सिकाईलाई व्यवहारमा उतारेर देखाउनका लागि एक दिने प्रयोगात्मक विज्ञान प्रदर्शनी आयोजना गरिएको महेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक झलक पुनले जानकारी दिनुभयो ।
विज्ञान प्रदर्शनीमा सहभागी विद्यार्थीले विद्युतीय सेन्सर डस्टविन, अटोमेटिक ट्याप, मकै छोडाउने मेसिन, घरमा कोहि नभएको बेला संकेत दिने साइरन, ट्याङकीमा पानी भरिन लागेको संकेत दिने मेसिन, अटोमेटिक स्टेट लाईट, पावर ब्याक, रिमोड कन्ट्रोल गाडी र मोबाईलबाट अन्य विजुली बत्ति, पखांलाई बाल्न वा निभाउन सकिने लगायतका विज्ञान सम्बन्धि नमूना तयार पारेर शिक्षक, अभिभावक तथा अन्य विद्यार्थीलाई देखाएका छन्।
यी सामाग्री निर्माणमा चाहिने सामाग्री र प्रशिक्षकको व्यवस्था बिद्यालयले गरिदिएको थियो । ‘विद्यार्थीले कक्षामा सिकेका सैद्धान्तिक कुराका आधारमा विज्ञान सामाग्री तयार पारेर प्रदर्शनी आयोजना गरिएको हो,’ प्रधानाध्यापक पुनले भन्नुभयो, ‘ विद्यार्थी आफैले तयार गरेका विज्ञानका सामाग्री आफैले प्रस्तुतीकरण गर्दा विद्यार्थीहरुको शैक्षिक गुणस्तर तथा अनुसन्धानमुलक शीपको विकास हुनेछ ।’
यस्तै बिग्रिएर फालिएका रेडियो, टेलिभिजन, मोबाईल लगायतका सामाग्री, काठका टुक्रा, प्लाईउड, डस्टबिन लगायतका खेर गएका सामाग्रीहरुबाट नै विद्यार्थीहरुले यी सामाग्रीहरु निर्माण गर्न सिकेको प्रशिक्षक बसन्त ओलीले जानकारी दिनुभयो ।
विज्ञान सामाग्री प्रदर्शनी कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष खल बहादुर खड्का, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नन्दराम केसी, पत्रकार, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।








