शिक्षा शाखा प्रमुख कुटिएपछि नगरपालिकाको सेवा ठप्प

शिक्षा शाखा प्रमुख कुटिएपछि नगरपालिकाको सेवा ठप्प

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको कार्यलयभित्रै कर्मचारी कुटिएपछि नगरपालिकाको कामकाज अनिश्चितकालका लागि ठप्प भएको छ ।

शनिबार मुसिकोटको १ मा रहेको त्रिभुवन जनता माध्यामिक विद्यालयको उच्च माध्यामिक तहको लेखा विषयको शिक्षक पदपुर्तीको लागि आवश्यक काम भईरहेको बेला नगरपालिकाका शिक्षा अधिकृत नरेन्द्र ओलीलाई उप प्रमुख बिमल कुमार पुनले  हातपात तथा दुर्व्यवहार गरेको भन्दै आज नगरपालिकामा कार्यरत कर्मचारीहरुले शान्तिपूर्ण बिरोध कार्यक्रम अन्तर्गत तालाबन्दी गरेका हुन् ।

अहिले कर्मचारीहरुले मूल गेटमै ताला लगाएर धर्ना दिएपछि नगरपालिकाको सेवा प्रवाह ठप्प भएको छ ।

कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरुले उक्त घटनाको विरोधस्वरुप कार्यालयको सेवा ठप्प पारेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले बताउनुभयो । यसप्रकारका घटनाहरू फेरि हुन नदिन नगरपालिकाका सम्पूर्ण कर्मचारीको तर्फबाट विरोधका कार्यक्रम जारी गरी त्यसको जानकारी नगर प्रमुखलाई गराइएको खड्काले जानकारी दिनुभयो ।

यस्तै कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृतले कर्मचारीको बैठक बसाल्नुपर्ने, दोषिलाई कडा भन्दा कडा कारबाहि गर्नुपर्ने, कर्मचारीहरुलाई भरपर्दो शान्ति सुरक्षाको वातावरण मिलाउनुपर्ने, नगरपालिकामा कार्यरत कर्मचारीको गल्ती भए कानुन बमोजिम कारबाहि गर्नुपर्ने माग नगरप्रमुख समक्ष राखेका छन ।

जसमा कानूनको कार्यान्वयनमा जनप्रतिनिधिहरू पन्छिएर कर्मचारीहरुलाई दोष लगाउने कार्यको अन्त्य हुनुपर्ने, जनप्रतिनिधि र कर्मचारीहरूले एक अर्काको भूमिका र काममा हस्तक्षेप गर्न नपाउने र उच्च स्तरिय न्यायिक छानबिन समिति गठन गरिनुपर्ने माग गरिएको छ ।

सम्पूर्ण कर्मचारीहरुको तर्फबाट निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काले नगर प्रमुख महेन्द्र केसीलाई उक्त माग पेश गर्नुभएको हो ।

उता उपप्रमुख पुनले आफूले कर्मचारीलाई हातपात नगरेको प्रतिक्रिया दिनुभएको छ । शनिबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर उप प्रमुख पुनले आफूले अनियमित तरिकाले बिद्यालयको कर्मचारी भर्ना गर्न खोज्ने प्रक्रिया रोक्न माग गरेको बताउनुभयो । सेटिङ मिलाएर कर्मचारी भर्ना गर्न खोज्ने प्रवृतिको अन्त्यका लागि आफू लागि परेको उल्लेख गर्दै उनले कोहि कर्मचारी माथि हातपात नगरेको उहाँको दाबी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार