मेरो धर्म (व्यंग कविता)

मेरो धर्म (व्यंग कविता)

नरेन्द्रकुमार राना

मेरा आस्थाका पहाडहरू

मभित्र सगरमाथा भन्दा अग्ला छन्
मेरा विश्‍वासका नदीहरू
नाइल र अमेजन भन्दा ठुला छन्
अनि
कुनै व्यक्ति र समूह
कहीं चोक र गल्लीमा उभिएर
आस्थाको पहाड
सुरुङले प्वाँल पार्न सक्छ भनेपछि
भूकम्प र बमले क्षत विक्षत पार्न सक्छ भनेपछि
विश्‍वासको नदी
लामो खडेरीले सुक्‍न सक्छ भनेपछि
ठुला ड्याम रोकेर थुन्‍न सक्छ भनेपछि
के म ?
चुपचाप चुपचाप
जे जे भन्छौ
त्यही सुन्दै जाऊँ ?
जे जे भन्छौ
त्यही सत्य मान्दै जाऊँ ?
म मेरो आस्थामा
किन प्रश्‍न गरूँ ?
म मेरो विश्‍वासको
किन परीक्षण गरूँ ?
मलाई मेरा पुर्खाले
यसै भनेका थिए
पुर्खाको मानमर्दन हुने गरी
किन अन्यथा गरूँ ?
बरु मेरो आस्थाका विरुद्ध
जे जति आउँछन्
सबलाई शत्रु घोषणा गर्छु
मेरो विश्‍वासका विरुद्ध
जे जति गर्छन्
मेरो सक्दो प्रहार गर्छु
तर कहिले पनि
आस्थाको पहाडप्रति
मेरो अटल विश्‍वास
मेरो अटुट भक्ति
अहँ, कदापि कमी हुन दिने छैन
प्राण रहँदासम्म
यसप्रति कुनै अविश्‍वास रहने छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार