रामप्रसाद पन्थी , रेसुङ्गा न पा २ गुल्मी
जान्न आमा पाठशाला भारी बोक्नु पर्छ
ठूलो भारी नबोकेमा कान जोख्नु पर्छ ।
कुरा मात्र बाल मैत्री काम छदै छैन
अब देखि म त स्कुल जादै जाने हैन।
कक्षा एक विद्यार्थी म बीस किलो झोला
झोला बोक्दा बोक्दै मेरो गयो गानो गोला ।
किताब छन् नानाथरी कापी बरोबरी
छुट्टा छुट्टै धेरै थरी बोक्नु कसो गरी ।
झोलाभित्रै राख्नु पर्छ छाता टिफिन् पानी
बडेमान झोला बोकी कसो गरी जानी ।
हाँस्ने खेल्ने उमेरमा गृहकार्य धेरै
मन्टेश्वरी पनि आमा हुन्छिन् हेर्या हेरै ।
रट्नु पर्ने सुँगा जस्तै किताबका पाना
चराजस्तै निल्नु पर्ने अक्षरका दाना ।
किताब छ कम्प्युटर प्राक्टिकल छैन
तिर्नु हुन्छ खेल शुल्क खेल्नु कैले छैन ।
फर्निचर शुल्क पनि हामी तिर्नु पर्ने
लुगा च्यात्छ थोत्रो बेन्च ड्रेस फेर्नु पर्ने ।
नेपाली हो मातृभाषा भन्नु हुन्छ आमा
अंग्रेजीमा पढाउने गर्नुहुन्छ धामा ।
निशुल्क रे कानुनमा मा वि सम्म शिक्षा
कैले पूरा होला आमा नेपालीको इच्छा ?
बरु आमा सिकाउन घरायसी काम
सीप सिके काम लाग्छ पछि गरी खान ।
जति पढे पनि आमा विदेशमा जान
विदेशमा जाने शिक्षा यहाँ के छ काम ?
त्यसैले त मेरी आमा पाठशाला जान्न
बरु आमा आजैबाट देऊ सीप छान्न ।