रुकुम पश्चिममा आत्महत्या रोकथाम दिवस मनाईयो

रुकुम पश्चिममा आत्महत्या रोकथाम दिवस मनाईयो

मुसिकोट । रुकुम पश्चिममा २१ औँ विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराकासाथ प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरेर मनाईएको हो ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सयुक्त आयोजना र सि.ए.सी. नेपाल, ओरेक नेपाल, टि.पि.ओ. नेपाल लगायतका सामाजिक संघ संस्थाहरुको समन्वय तथा सहकार्यमा दिवस मनाईएको हो ।

मुसिकोट नगरपालिका १ बालमन्दिरबाट निकालिएको सचेनामुलक र्‍याली सहिदगेट, त्रिवेणी चोक, बागबजार हुँदै वडा नम्वर ५ सेरीगाउँस्थित सहित स्मृति सभाहलमा पुगेको थियो । प्रभातफेरी पछि भएको अन्तरक्रिया कार्यक्रममा महिला पुनस्थार्पना केन्द्र (ओरेक) नेपालका जिल्ला संयोजक दिपा धितालले विश्व तथा नेपाल र रुकुम पश्चिममा आत्महत्याको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले घरेलु हिंसा, मादक पदार्थ सेवन, गरिबी, बेरोजगारी लगायतका समस्याका कारण आत्महत्या हुने गरेको बताउनुभयो । सामाजिक असमानता, असफलता, दीर्घ रोग, सानै उमेरमा विवाह लगायतका कारण पनि आत्महत्याको दर बढेको उहाँको भनाई रहेको छ । सबै निकायले सचेतनाको पाटोलाई जोड दिएर आत्महत्या रोकथामका लागि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका उप प्रमुख बिमल कुमार पुन, सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन लामिछाने, स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुशिल पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर कुसारी लगायतको आथित्यता रहेको थियो ।

त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिद्यार्थीहरु, सुरक्षाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

नेपालमा आत्महत्याका घटना बढ्दो

नेपालमा पछिल्लो १० वर्षको तथ्याङ्कअनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका छन् । यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो । नेपाल प्रहरीका नायब महानिरीक्षक कुवेर कडायतले आत्महत्याका घटना बढ्दो क्रममा रहेको बताउनुभयो ।

गत आर्थिक वर्षमा मात्रै झण्डै सात हजारले आत्महत्या गरेका थिए । विसं २०७० मा चार हजार पाँच सय जनाले आत्महत्या गरेकामा १० वर्षपछि आव २०७९–८० मा सो सङ्ख्या बढेर सात हजार पुग्नु चुनौतीपूर्ण अवस्था रहेको मनोविद् तथा मनोचिकित्सक बताउँछन् ।

अझ कोभिड–१९ को समयमा आत्महत्या गर्नेको सङ्ख्या बढेको थियो । त्यसैले यसलाई मानसिक स्वास्थ्य समस्याका रूपमा हेरेर रोकथामतर्फ लाग्नुपर्नेमा मनोविद् तथा मनोचिकित्सकहरूको जोड छ ।

मनोविद् डा. ठगुन्ना आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै सङ्केत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिने बताउनुहुन्छ । परिवार वा अरुले बेवास्ता गरेमा मात्रै ऊ आत्महत्याको बाटो रोज्न पुग्ने उहाँको भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार