मुसिकोट । रुकुम पश्चिममा रहेको श्री चण्डीदल गणमा सैन्य आधार तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ ।
गणमा सञ्चालन भएको सि.सं. ५ सैन्य आधार तालिमको मुसिकोट नगरपालिका ४ बोरागाउँमा रहेको चण्डीदलको ‘ग’ गुल्ममा दिक्षान्त समारोह सम्पन्न भएको हो ।
प्रमुख सेनानी बरुण के.सी (खत्री) का अनुसार गत मंसिर १ गतेबाट सुरु भएको सैन्य तालिमको सोमबार समापन गरिएको हो । उहाँका अनुसार तालिम ६८ जना सहभागि रहेका थिए ।
दिक्षान्त समारोहमा बोल्दै प्रमुख सेनानी केसीले सैनिक जवानहरुलाई सेनाको व्यवसायीकता र पेशागत मर्यादाभित्र रहि देशको सेवामा दत्तचित्त भएर लाग्न शुभकामना दिनुभयो ।
तालिममा सहभागी सैनिकहरुले कवाज गर्नुका साथै परेड खेलेका थिए । तालिममा उत्कृष्ट हुने पाँच जना सैनिक जवानलाई प्रमुख सेनानी केसीले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कार पाउने सैनिक जवानहरुमा सर्वोत्कृष्ट चित्र बहादुर बस्नेत, दौड तर्फ प्रजन थापा, बाधापारमा कैलाश शाही, फायरिङमा नविन कँवर र डिलमा प्रवेश राशकोटी रहनुभएको छ ।
समारोहमा मुसिकोट नगरपालिकाका उप प्रमुख बिमल कुमार पुन, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन लामिछाने, रुकुम पूर्वका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, प्रहरी नायब उपरिक्षक अञ्जना श्रेष्ठ, रुकुम पश्चिमका अनुसन्धान अधिकृत होमराज रेग्मी, प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल लगायतको आतिथ्यता रहेको थियो ।