विद्यालयमा राजनितिक गतिबिधि रोक्न रास्वपा रुकुम पश्चिमको माग

विद्यालयमा राजनितिक गतिबिधि रोक्न रास्वपा रुकुम पश्चिमको माग

मुसिकाेट । राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले जिल्लाका विद्यालयहरुमा राजनितिक गतिविधि बढेको भन्दै त्यस्ता क्रियाकलाप रोक्न माग गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ध्यानाकर्षण पत्र बुझाउदै जिल्ला समितिले विद्यालयहरुमा हुने राजनितिक गतिबिधिहरु रोक्न माग गरेको हो ।

“जिल्लाका विभिन्न पालिकाका विद्यालयहरूमा राजनीतिक दल र तिनका विद्यार्थी संगठनहरुले विद्यालयहरूमा राजनीतिक गतिबिधि गर्ने, झण्डा प्रदर्शन गर्ने तथा त्यहाँ अध्ययनरत बालबालिकाहरूलाई राजनीतिक उद्देश्यले संगठित गरी सङ्गठन विस्तार गर्ने क्रियाकलापहरुले कानुनी शासनको धज्जी उडाएको प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ” ध्यानाकर्षणपत्रमा भनिएको छ ।

यस्ता गैरकानुनी क्रियाकलाप गर्न बिद्यालयको समेत सहभागिता हुनसक्ने भएकाले सम्बन्धित बिधालयका शिक्षकहरुलाई अनुसन्धानको दायरामा ल्याई आवश्यक कारबाहीको लागि पनि आग्रह गरिएको छ । उक्त राजनितिक गतिबिधिहरू विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका–२०६८ विपरित भएकोले यथासिघ्र त्यस्ता राजनितिक क्रियाकलाप रोक्न ध्यानाकर्षण गरिएको हो ।

“बालबालिका सम्बन्धी ऐन–२०७५ मा १८ वर्ष भन्दा कम उमेरका व्यक्तिहरूलाई बालबालिका भनिएको छ । त्यसै ऐनको परिच्छेद ८ (दफा ६६ को उपदफा २ मा) राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम धर्ना वा जुलुसमा प्रयोग गर्ने कार्य गरे बालबालिका विरूद्धको हिंसा मानिने स्पष्ट व्यवस्था छ । त्यसैले हालै विभिन्न राजनीतिक दलहरूले विभिन्न विद्यालयहरुमा १८ वर्षमुनिका विद्यार्थीहरुलाई संगठित गरी निर्माण गरेका संगठनहरु भंग गर्न अनुरोध गर्दछौं ।” जिल्ला संयोजक लिलाधर शर्माद्धारा हस्ताक्षर गरिएको ध्याकर्षणपत्रमा उल्लेख गरिएको छ ।

साथै, आगामी दिनहरुमा विद्यालयमा त्यस्ता गैरकानुनी गतिविधि नहुने अवस्था सृजना गर्न र त्यस्तो गतिविधि सञ्चालन गर्न संलग्न हुने व्यक्तिहरुलाई आवश्यक कारबाही माग गरिएको छ ।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार