मुसिकोट । डेंगु सङक्रमण रोक्न रुकुम पश्चिमको मुसिकोटमा सरसफाइ अभियान सञ्चालन गरिएको छ ।
पछिल्लो समय जिल्लामा डेंगुको सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय, नेपाली सेनाको चण्डीदल गण, मुसिकोट नगरपालिका, जिल्ला प्रहरी कार्यालय लगायतका निकायहरुको संयुक्त आयोजनामा सरसफाई अभियान सञ्चालन गरिएको हो ।
अभियान अन्तरगत सोमबार खलंगा बजार, बागबजार, सेरिगाऊँ, मठ लगायतका क्षेत्रमा सरसफाइ गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सुशील पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार बजार क्षेत्रका घर तथा भवनको छेउछाउमा भएका पानी जम्ने खाल्टाखुल्टी पुर्ने र लामखुट्टेले फुल पार्ने, बच्चा जन्माउन सक्ने गरी पानी जम्मा हुने भाँडा खोजेर नष्ट गरिएको छ ।
यस्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरपालिका, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीयले सडकमा फालिएका/राखिएका बोतल, भाडामा जमेको पानी फाल्ने र त्यस्ता भाँडामा पानी जम्न नदिन सचेत गराउने लगायतका काम गरेका थिए ।
सरसफाइ अभियान अन्तरगत फोहोर व्यवस्थापनका लागि बजार क्षेत्रका विभिन्न ठाउँमा २५ वटा डस्टविन राखिएको जनाइएको छ ।
सरसफाइ कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, उपप्रमुख विमल कुमार पुन, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, चण्डीदल गणका गणपति प्रमुख सेनानी वरुण केसी खत्री, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई, स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सुशील पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।