मुसिकाेट । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको सत्कार होटेलमा लिएर महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका एक पुरुषलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्लाकाे सानीभेरी गाउँपालिका –९ सिम्ली बस्ने का ३३ बर्षिय लोकेन्द्र बिक भनिने लोकबहादुर बिकलाई प्रहरीले मंगलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिनुभयो ।
बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर हत्या आरोपी लोकबहादुरलाई सार्वजनिक गरिएको हो । मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान भावना मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । मृतकको घाँटि रेटेर हत्या गरिएको डिएसपी भट्टराईले बताउनुभयो ।
मुसीकोट नगरपालिका –१ छिङस्थित माईती घरमा बस्दै आएकी मृतक बिक र हत्या ओरापी लोकबहादुर बिच अनैतिक सम्बन्ध रहेको र आर्थिक लेनदेनको बिषयमा विवाद भएपछि हत्या गरिएको बताईएको छ । प्रहरीले घटनास्थलबाट रगत लागेको धारिलो चक्कु, मोबाईल, चक्कुको खोल र प्रतिवादीको घरकोठाबाट नगर ८५ हजार ८३५ रुपियाँ बरामद गरेको जनाएको छ ।
आईतबार होटेल सत्कारमा पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नामबाट होटेलको कोठा बुक गराएका थिए । नातामा श्रीमान् श्रीमतीको सम्बन्ध उल्लेख गरेका उनीहरुले दिएको नाम र विवरण गलत रहेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।