मुसिकाेट। रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका क्षेत्रमा सञ्चालित अटो तथा ई–रिक्साकाे भाडादर निर्धारण गरिएको छ ।
चौरजहारी नगरपालिका भित्रका विभिन्न रुटका लागि नयाँ भाडादर निर्धारण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
अटो तथा ई–रिक्सा व्यवसायीहरुले स्थानीयहरुबाट मनोमानी रुपमा चर्को भाडा असुलेको व्यापक जनगुनासो आएपछि अटो तथा ई–रिक्सा सञ्चालन तथा व्यवस्थापन समितिकाे बैठकले पालिका क्षेत्र भित्रका विभिन्न १६ वटा रुटमा सामान्य तथा रिजर्भ गरी छुट्टा छट्टै भाडादर निर्धारण गरेको छ ।
रिजर्भका लागि दिउँसो र रातको समयमा फरक फरक भाडा तोकिएको छ । सो निर्णय कार्यान्वयन नगर्नेलाई कारवाही गर्ने नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरपालिकाले अटो तथा ई–रिक्सा व्यवसायीहरुलाई यहीँ कात्तिक २२ गते भित्र अनिवार्य रुपमा रुट ईजाजत लिन अनुराेध गरेको छ ।


 
					
							 
                             
                             
                             
                             
                            