जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ । आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, आइतबारै बिहान १ बजेर २२ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । आजै बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
त्यसयता चार म्याग्निच्युडदेखि माथिका सात परकम्प मापन गरिएको केन्द्रले जनाएको छ । यीमध्ये ‘ठूलो’ परकम्प शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपासै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का थियो ।
केन्द्रका अनुसार ६.४ म्याग्निच्युडको भूकम्पपछि शुक्रबारै राति १२ बजेर ८ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.५, सोही राति १२ बजेर २९ मिनेटमा जाजरकोटमै ४.२, शुक्रबारै राति १२ बजेर ३५ मिनेटमा जाजरकोटमै ४.३ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।
यस्तै, शनिबार बिहान ४ बजेर १६ मिनेटमा जाजरकोटमै ४.६, शनिबारै दिउँसो ३ बजेर ४० मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.२, आइतबार बिहान १ बजेर २२ मिनेटमा जाजरकोटमै ४.० र आइतबारै दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।
शुक्रबार रातिको ६.४ म्याग्निच्युडको भूकम्पपछि जाजरकोटमा अहिलेसम्म ३११ भन्दा बढी परकम्प मापन भइसकेको केन्द्रले जनाएको छ ।