डा.आविष्कार धरला
एक महिनाअघि १७ कात्तिकमा जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरस्केलको भूकम्पका कारण १ सय ५४ जनाले ज्यान गुमाए । ती जाजरकोट र रुकुम पश्चिमका थिए । मध्यरातको मीठो निद्रामा रहेका मानिसले अकालमा ज्यान गुमाए । दुवै जिल्लामा गरी ८३ बालबालिकाको ज्यान गयो । यस्तैयस्तै दुःखद् खबर सुनेर मनमा अनेक कुरा खेल्न थालेको थियो । मौका पाए त्यो दुःखेको घाउमा मल्हम लगाउन पाए हुन्थ्यो भन्ने मनमा लागिरहेको थियो । संयोग नै भनौँ, साँझको खाना खाने बेला मलाई हाम्रो अस्पताल प्रमुखले रुकुम पश्चिमको भूकम्पबाट धेरै प्रभावित क्षेत्रमा गएर घाइतेको उपचारमा सघाउन सल्लाह दिनुभयो । मैले अर्को दिन बिहानै जाने निधो गरेँ ।
हुन त, आठ बर्षअघि अहिलेको भन्दा ठूलो भूकम्प आएको थियो । तर, मेरालागि २०७२ को भूकम्पभन्दा अहिलेको भूकम्प ठूलो थियो । किनभने, आठ वर्षअघि भूकम्प जाँदा म फिलिपिन्समा प्रीमेड अध्ययन गर्दै थिएँ । त्यतिबेला धेरै मानवीय तथा भौतिक क्षति गरे पनि मैले प्रत्यक्ष असर महसुस गरेको थिइन, जति १७ कात्तिकको भूकम्पमा गरेँ ।
२०७२ सालमा म भर्खर फिलिपिन्स गएको थिएँ । त्यतिबेला म पढाइको दबाबमा थिए । त्यसबाहेक दायाँबायाँ खासै ध्यान दिँदैनथे । आमाबुबाको सपना थियो, छोरा डाक्टर बनेर मात्र फर्कियोस् । त्यही भएर होला सायद त्यतिबेला भूकम्पले मलाई त्यति असर गरेन । त्यसो भने पनि मन शान्त भने थिएन । मातृभूमिमा परेको विपत्तिमा कोही कसरी चुप बस्न सक्छ र ? केही अग्रज दाइहरूको सल्लाहमा भूकम्प पीडितका लागि सहायता जुटाउने टुंगोमा पुग्यौँ । पीडितलाई केही न केही राहत मिलोस् भन्ने हाम्रो इच्छा थियो । फिलिपिन्समा काठमाडौंको फनपार्क जस्तै एउटा पार्क छ । हामी त्यहाँ भेला भएर सहयोग जुटाएको हिजोजस्तो लाग्छ ।
अस्पताल प्रमुखले सल्लाह दिएबमोजिम म बिहानै ८ बजे झोला बोकेर रुकुम पश्चिम हिँडे । गाडी अस्पतालको गेटनजिक आइसकेको थियो । म आफ्नो झोला बोकेर गाडी चढेँ । म सँगै जनस्वास्थ्यका अरु दुई स्टाफ पनि जाँदै रहेछन् । राडिजिउलामा रहेको आठबीसकोट नगरपालिकाको नगर अस्पतालहुँदै घेत्मा जानुपर्ने भयो । बेलुकी ५ बजेतिर हामी गन्तव्य घेत्मा स्वास्थ्य चौकी पुग्यौँ । गाडीमा कर्णप्रिय गीत गुन्जिरहेको थियो । अनि, झ्याँलबाट सुन्दर दृश्य पनि । तर, मेरो मन भूकम्पपीडितमा थियो । कतिबेला पुगेर मानविय सहायता गर्न सकिएला भन्ने सोचेको थिएँ । हामी गाडीबाट ओर्लिन पाएको छैन, मानिसहरूको कोलाहलपूर्ण भीड देखियो । त्यो होहल्ला र भीडले एक किसिमको डर पैदा भएको थियो । भूकम्पमा थिचिएका, उद्धार गरिएका र अनेक स्वास्थ्य समस्या लिएर हामी भएको ठाउँमा आउन थाले । त्यसै पनि स्वास्थ्य चौकीमा घाइतेको भीडभाड थियो ।
घेत्मा पुगेको केहीबेरपछि नै एक वृद्ध मसँग उपचार गराउन आउनुभयो । उहाँले घाँटी दुखिरहेको भन्नुभएको थियो । तर, जब नजिक आउनुभयो, ह्वास्स मदिरा गन्हायो । ती वृद्धलाई भेटेपछि मलाई झन नमज्जा लाग्यो । यस्तो विपत्तिमा पनि मानिसहरू मदिराको तालमा छन् । वास्तवमा म अलिपछि वा भोलिपल्ट मात्र उपचारमा लाग्न सक्थे । तर, ओपिडिमा एक जना मात्र स्वास्थ्य अधिकृत हुनुहुन्थ्यो । म पनि तत्कालै काममा जुटिहालेँ ।
गएकै दिन मैले १२ बिरामी र घाइतेको उपचार गरेँ । बिरामी जाँचे, पर्चामा औषधि लेखिदिएँ । तर, विडम्बना स्वास्थ्य चौकीमा औषधि रहेनछ । म र देव सरले सम्भावित औषधिको लिस्ट तयार गरेर नगर स्वास्थ्य प्रमुखसँग ल्याइदिन अनुरोध गर्याैँ ।
भूकम्पग्रस्त क्षेत्रमा औषधिको आवश्यकतालाई नगर स्वास्थ्यले महत्वमा राख्यो । नभन्दै भोलिपल्ट दिउँसो हामीले मगाएका औषधि आइपुग्यो । त्यतिछिटो रेस्पोन्स भएर स्वास्थ्य चौकीमा औषधि आउँदा हामी साँच्चीकै खुसी भएका थियौँ । वास्तवमा औषधि बिनाको डाक्टरको के काम ? औषधि भएपछि बल्ल गाउँमा डाक्टर आएको आम मानिसले अनुभूति गर्न पाए ।
रोचक त के भने घेत्मा स्वास्थ्य चौकीमा डाक्टर भएर जाने केही दिन नै सही म पहिलो रहेछु । स्वास्थ्य अधिकृत देवबहादुर चन्द र स्थानीयले त्यो सुनाउँदा अनौँठो पनि लाग्यो, खुसी पनि लाग्यो । अनौँठो यस मानेमा कि घेत्मा जस्ता कति दुर्गमबस्ती होलान् जहाँका बासिन्दाले डाक्टरको मुखै देख्न पाउँदैनन् । खुसी यस मानेमा कि मैले त्यो अवसर पाएँ । गाउँले पहिलोपटक डाक्टरबाट उपचार गराउन पायो, त्यो डाक्टर म थिए । त्यो पनि भूकम्पजस्तो विपदले गाउँबस्ती ढलेको बेला । आम नागरिकको दुखेको घाउमा मल्हमपट्टि लगाउन म गएको थिएँ ।
गाउँमा स्वास्थ्य चौकीको नयाँ भवन बनेको रहेछ । तर, भूकम्पले पुरै चर्किएछ । स्वास्थ्यचौकी भवनमा सुत्न त परको कुरा जान समेत डरलाग्दो । स्वास्थ्य कर्मचारीका लागि क्वाटर त रहेछ, त्यो पनि भूकम्पले भत्किएछ । स्वास्थ्य चौकी अगाडि एउटा सानो किराना पसल सग्लो थियो । जसोतसो तीन रात मैले किराना पसलमा कटाएँ ।
म घेत्मा जाँदा जे सोचेर गएको थिएँ, तीन दिन बसेपछि थाहा भयो मैले सोचेभन्दा परिस्थिति भिन्न रहेछ । भूकम्पको उद्धार, राहत र उपचारमा सिंगो समुदाय एकजुट भएको पाएँ । वास्तवमा विपद्मा त हो, समाज चाहिने । त्यो सद्भाव, एकता र सेवाभाव मैले दुर्गम गाउँमा देखेँ ।
डाक्टरको पेसा नै त्यस्तै छ । अत्यावश्यक सेवा । भनेको बेला बिदा पाइँदैन । मैले दसैँको बिदासमेत पाएको थिइन । त्यतिबेला तिहारमा बिदा लिने भनेर बसेको थिएँ । तिहारको ठीकअघि भूकम्पग्रस्त बस्तीमा पुगेँ । त्यहाँ छाडेर हिँड्न त सजिलो थिएन । तर, मैले दिदीलाई तिहारमा आउने वचन दिएको थिएँ । एकसरो धेरै बिरामीको उपचार पनि भइसकेको थियो । स्वास्थ्यचौकीले मलाई फर्किन बिदा दियो । चार दिन आफूले सकेको मानवीय सहायता गरेर म घर फर्किएँ ।
नेपालको सबैभन्दा दुर्गम मानिएको प्रदेश हो, कर्णाली । तर मलाई हरेक कोणबाट कर्णाली धनी लाग्छ । धार्मिकस्थल, पर्यटकीय र जडिबुटीको स्रोत छ । तैपनि, कर्णाली पीडामा छ । रोग, भोग र गरिबीले सधैँ रोएको छ । त्यसैमा थपियो, जाजरकोट र रुकुम पश्चिमको भूकम्प । मानिसहरू अझै पनि पालमुनि बसेका छन् । चिसोका कारण कैयौँ सुत्केरी, वृद्ध तथा कलिला मुनाजस्ता बालबालिकाको ज्यान गइसकेको छ । यो सबै सम्झिँदा कटक्क मन खान्छ ।
चिसोसँगै विभिन्न अस्पतालमा दमका बिरामी भरिन थालेका छन् । यस्तोमा भूकम्प प्रभावित क्षेत्रमा शितमुनि रात काट्न बाध्य बिरामीप्रति मानवीयता देखाउने हो कि ? सरकारले गरिरहेको ढिलासुस्तीमा अलिकति आवाज उठाउने हो कि ? अथवा, आफैँले गर्नसक्ने सहायताका लागि अघि सर्ने हो कि ? स्वास्थ्य चौकीमा कम्तीमा एउटा मेडिकल अधिकृतको खाँचो छ । आमनागरिकको नजिकको सेवा प्रदायक संस्था हो, स्वास्थ्य चौकी । त्यहाँ एक तहको उपचार र औषधि पुर्याउनतर्फ सबैको चासो जान आवश्यक छ । (डोल्पाको त्रिपुराकोट निवासी डा. आविष्कार हाल जिल्ला अस्पताल सल्लेमा कार्यरत हुनुहुन्छ )