नरेन्द्रकुमार राना
आँसु सुकेका आँखाहरू
हिमालतिर चिहाएर
एक अञ्जुली जल मागिरहेछन्
रित्ता भएका छातीहरू
गुलाफहरू सँगालेर
प्रतिपल धडकने प्रीति मागिरहेछन्
सदियौं सुकेका बगरहरू
नदीको किनारमा पानीलाई हेरेर
प्यास मेटाउने बाढी मागिरहेछन्
फूल झरेका बोटहरू
आँगनको बाह्रमासेतिर फर्केर
ढकमक्क फुलेको बैंश मागिरहेछन्
कलेंठी परेका ओठहरू
सुदूर लाल क्षितिजसित
एक सर्को आलिङ्गन र चुम्बन मागिरहेछन्
हुनेले भएको थाह नपाउने
नहुनेले माग्दा नि नपाउने
यो पीडाको घडीमा
एक छिन
अपुगको मौनधारण
गरे कसो होला ?