रुकुममा भूकम्पपीडितको राहत बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

रुकुममा भूकम्पपीडितको राहत बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

मुसिकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ । दुर्घटनामा परेर नौ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका रूकुम पश्चिमका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार बुधबार राति करिब सवा दश बजे भूकम्प पीडितहरुको अस्थायी टहरा निर्माणको लागि जस्तापाता र केहि राहतका सामान बोकेर आठबीसकोट नगरपालिका ९ राडिबाट वडानम्वर ८ को घर्तीगाउँतर्फ जाँदै गरेको रा १ त १४ नम्वरको ट्याक्टर वडा नम्वर १० को तिरिकोट भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी भट्टराईले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा आठबीसकोट नगरपालिका वडा नम्वर १० का ४६ वर्षिय लोकबहादुर शाही र उहाँको ४२ बर्षिया श्रीमती चुकी शाही, सोहि गाउँका ५२ बर्षिय भर्दर सार्की, वडा नम्वर ८ बस्ने ४८ बर्षिय धनराम सार्की र ४७ बर्षिय निर्मला सार्की रहेका छन् ।

त्यस्तै दुर्घटनामा परेर नौ जना घाईते भएका छन् । घाईतेहुनेहरुमा आठबीसकोट नगरपालिका १० निवासी ३८ वर्षिय रमेश सार्की, वडा नम्वर ८ निवासी ४१ वर्षिय खड्क बहादुर पुन, १४ वर्षिय दलबहादुर पुन, ४५ वर्षिय कुमार घर्ती, ३४ बर्षिया रमा गुरुङ सार्की, ५१ बर्षिय जगबिर सार्की रहनुभएको छ । त्यसैगरी वडा नम्वर ८ कै ३६ वर्षिय जयबहादुर घर्ती, ५८ बर्षिय मने सार्की र ४२ बर्षिय मदन पुन दुर्घटनामा परेर घाईते हुनुभएको छ ।

घाईते सबैको अहिले आठबीसकोट नगर अस्पतालमा उपचार भईरहेको छ । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।
घुम्ती मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताईएको छ । प्रहरीले ट्याक्टर चालक आठबीसकोट नगरपालिका ९ निवासी २१ बर्षिय गोपाल बिकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

ट्र्याक्टर साँघुरो सडकको घुम्तीमा मोड्न नसकेर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक आकलन छ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार