मुसिकोट । रुकुम पश्चिममा अहिलेसम्म दश हजार बढी अस्थायी आवास निर्माण भएका छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार सरकारले अस्थायी आवास निर्माणका लागि दिएको अनुदान रकमको पहिलो किस्ताबाट हालसम्म जिल्लाभर दश हजार ४२३ वटा आवास निर्माण भएका हुन् ।
शुक्रबारसम्म अनुदान बापतको रकमले सात हजार ११७ वटा आवास निर्माण भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार आठबीसकोट नगरपालिकामा तीन हजार १४ वटा अस्थायी आवास बनेका छन् भने चार हजार एकसय आवास निर्माणको चरणमा रहेका छन् ।
त्यसैगरी चौरजहारी नगरपालिकामा दुई हजार २८९ अस्थायी आवास निर्माण सम्पन्न हुँदा ३१५ वटा निर्माण भइरहेका छन् । मुसीकोट नगरपालिकामा हालसम्म २४ वटा अस्थायी आवास निर्माण भएका छन् भने ४८ वटा निर्माण भइरहेको बताइन्छ ।
त्यस्तै सानीभेरी गाउँपालिकामा चार हजार ४१ अस्थायी आवास निर्माण भएका छन् भने दुई हजार २७ वटा निर्माण भइरहेका छन् । प्रशासन कार्यालयका अनुसार त्रिवेणी गाउँपालिकामा ९३८ अस्थायी आवास निर्माण भएका छन् भने ५५७ वटा आवास निर्माणको चरणमा रहेका छन् । बाँफिकोट गाउँपालिमा ११७ लाभग्राहीका लागि अस्थायी आवास निर्माण भएका छन् भने ४० वटा निर्माण भइरहेका छन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी बढुवालका अनुसार जिल्लाका छ वटै स्थानीय तहमा २३ हजार ६०८ लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम स्थानीय तहमा रहेको विपद् कोषमा पठाइसकिएको छ । स्थानीय तहले भने २१ हजार १२५ लाभग्राहीको खातामा पहिलो किस्ता पठाइसकेको जनाएका छन् ।