मुसिकोट । जन्मदिनको अवसरमा फजुल खर्च गर्ने बानीलाई तोड्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले उदाहरणीय काम गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो ।
जिल्लाको चौरजहारी नगरपालिका-३ जनज्योति आधारभूत विद्यालय स्यालखोलाका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा शैक्षिक सामग्री प्रदान गर्नुभएको हो । कमजोर आर्थिक पृष्ठभूमिका वादी समुदायका बालबालिकाहरूलाई लक्षित गरी शैक्षिक सामग्री प्रदान गरिएको हो ।
जनज्योति स्यालखोलामा कक्षा ६ देखि ८ मा अध्ययनरत ८ जना विद्यार्थीलाई एक कार्यक्रमका बिच कापी, कलम लगायतका शैक्षिक सामग्री प्रदान गरिएको हो ।
प्रारम्भिक कक्षामा बादी समुदायका बालबालिकाहरू भर्ना भएता पनि माथिल्ला कक्षासम्म जाँदा बिचमै विद्यालय छोड्ने अवस्था रहेको छ । विद्यालय शिक्षाप्रति वादी समुदाय र विपन्न परिवारका बालबालिकाहरूलाई प्रेरित गरी निरन्तरता दिन सहयोग गर्ने हेतुले शैक्षिक सामग्री प्रदान गरिएको ढकालले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक टोपबहादुर केसीको अध्यक्षता रहेको शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा चौरजहारी सभापति तेजबहादुर बटालाको प्रमुख आतिथ्यतामा रहेको थियो ।
कार्यक्रममा चौरजहारी नगरपालिका रोजगार संयोजक कृष्णप्रसाद शर्मा, प्रशासन सहायक देवबहादुर बटाला, पञ्जीकरण सहायक देवबहादुर रोकाय, आधारभूत विद्यालय नाखिराका शिक्षक निमेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघका रुकुम पश्चिमका उपाध्यक्ष गोपाल रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।
