उनीहरूले पटकपटक झुक्याउँदै भनिरहे
अब आमाको गुन्यु फेर्न
जोईको लाज टाल्न
जवानीका पसिनाहरु निचोर्न
कोही कतै जानुपर्ने छैन
मुखमा एकगास चारो हालेर
भोकले बटारिएको पेटको खाल्डो पुर्ण
र एकसरो आङ छोप्न
कसैसँग हाम्री छोरी चेलीहरु
आफ्नो जवानी सुम्पनुपर्ने पनि छैन।
हरेक पटक सबै सबैले पत्याउँदै आए
कोही लड्दै भिड्दै आए
कोही लड्दालड्दै मरे
कोही पत्याउँदा पत्याउँदै मारिए।
सपनाका लागि मर्ने र मारिनेहरु
सहरबजारका चोकचोक र चौबाटाहरुमा
ढुङ्गामाटाका सहिदका सालिक बनेर उभिदै
अहिले गिज्याइरहेका छन् उनीहरूलाई नै
आज सहिदका नाममा मात्र सीमित
ती निष्प्राण सालिहरुले
न परिवारको भोक मेटिदिन सक्छन्
न त गर्जो नै टार्न
न आमाबाबुको आँसु पुछिदिन सक्छन्
न त जोईको लाज नै ढाक्न ।
ए! सहिदका सालिकहरु हो,
नगिज्याऊ तिनीहरुलाई
ए ! झुप्राका जिजीविषाहरु हो ,
नसराप उनीहरुको सत्तालाई
तिमी त मरेका मात्र त हौ
परिवर्तन नामको आगोको भुङ्ग्रोमा
तिमी अङ्गभङ्ग भएका मात्र त हौ
आश्वासनको युद्ध भूमिमा
न तिमी नेता नै हौ
न उच्च ओहदाका पदाधिकारी
न उनका आफन्त ।
यहाँ परिवर्तन गर्यौँ भन्नेहरू जो जो हुन्
सत्ताको स्वाद चाट्न नपाए
बाँच्नै नसक्नेहरु जो जो हुन्
सत्तासीनहरुको वरिपरि फन्को मार्दै
निमुखाहरुको मुखको गास खोसेर
आफुमात्र बाँच्न खोज्नेहरु जो जो हुन्
यहाँ उनीहरू मात्र बाँच्नुपर्छ
यहाँ उनीहरू मात्र अघाउनुपर्छ
उनकै सन्तान दरसन्तानले नै
देश लुट्न पाउँनुपर्छ
उनैले नै घुँइक्याउनुपर्छ चिल्ला चिल्ला गाडीहरु
उनले नै ठड्याउनुपर्छ ठाउँठाउँमा महलहरु
तिमी त
शिक्षा , स्वास्थ्य, रोजगारजस्ता बेसुरा गीतहरू
जीवनभर सुनेर मात्र चित्त बुझाऊ
यहाँ राज्यसत्ता तिम्रा लागि रुन जान्दैन
पुर्पुरोमा हात राख्दै तिमी मात्र रुनुपर्छ।
यहाँ पराधीनहरु स्वतन्त्रताको वकालत गर्छन्
भ्रष्टाचारीहरु भ्रष्टाचार विरुद्ध नारा लाउँछन्
जनताका न्याय लुट्नेहरु
न्याय अन्याएको फैसला आफै गर्छन्
जनताका लागि जनताबाट पठाइएकाहरु
जनता रुने र दुनियाँ हाँस्नेगरी
सदनमा नग्न भएर तिनै नाच्छन्।
यसरी हरेकचोटि
जनता पराजित हुँदै गएपछि
अब एउटा नयाँ कथा लेख्नुछ
भुइँ मान्छेहरुका व्यथाहरु पढ्नुछ
सत्ता दुर्गन्धले बिटोलेको यो धर्ती धुनुछ
अपराधका दाग छोप्नेहरुको
मनमुटु घोच्नुछ
अधिकारको झण्डा लत्याउँनेहरुको
आँखा कान खोप्नुछ
यहाँ मार्नेहरुको
मर्न बाध्य पार्नेहरुको
र जनता लडाएर राष्ट्र दोहोन गर्नेहरुको
एकएक हिसाब खोज्नुछ
एकएक हिसाब खोज्नुछ।