मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ को राडीबजार क्षेत्रमा बजार अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले शनिबार आठविसकोटका विभिन्न ८ वटा व्यवसायको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सूचि नराखिएको, केहिमा म्याद गुज्रेका सामाग्री रहेको, कुनै पसलले दर्ता प्रक्रिया पुरा नगरेको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनको क्रममा कैफियत भेटिएका ६ वटा किराना पसललाई ४५ हजार रुपियाँ जरिवाना गरिएको र ५ हजार ७ सय ८० रुपियाँ मूल्य बराबरका म्याद गुज्रेका सामाग्री समेत नष्ट गरिएको छ ।
चाडवाडको बेलामा हुनसक्ने सम्भावित कालोबजारी नियन्त्रण, गुणस्तरहिन सामाग्रीको विक्रि वितरण रोक्न, कानूनी मापदण्डको अवस्था निरीक्षणका लागि बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । उपभोक्ताको स्वास्थ्यमा असर नपर्ने गरी उपभोग्य सामाग्री विक्रि वितरण गर्न र ठगिनबाट जोगाउन बजार अनुगमन गरिएको उहाँको भनाई छ ।
यस्तै बजार अनुगमनको क्रममा मापदण्ड पुरा नगरेका, म्याद गुज्रेको सामान राखेका, आवश्यक कागजात पुरा नगरेका केहि पसलहरुलाई जरिवाना गरिएको छ भने केहिलाई सचेत बनाईएको छ ।
जिल्ला प्रशासन कार्यालय, आठविसकोट नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, पशु अस्पतला तथा पशु सेवा कार्यालय लगायतको सहभागितामा सयुक्त बजार अनुगमन गरिएको हो ।