सुर्खेत । पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुको बैठक बोलाउनुभएको छ । उहाँले शनिबार दिउँसो १ बजेका लागि मन्त्रीहरुको बैठक बोलाउनुभएको हो ।
८ सदस्यीय कर्णाली सरकारमा कांग्रेसका तर्फबाट ४ मन्त्री सहभागी छन् । आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुनुहुन्छ ।
कर्णाली सरकारले अहिलेसम्म गरेका कामको समिक्षा र आगामी कार्यदिशाबारे मन्त्रीहरुसँग छलफल हुने उहाँको सचिवालयले जनाएको छ । त्यसपछि आइतबार नेता शाहीले कांग्रेस संसदीय दलको बैठक आव्हान गर्नुभएको छ । दुवै बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछन् ।