सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई ६ बुँदे अवधारणा पत्र बुझाएको छ ।
आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफलमा सहभागी भएसँगै पत्रकार महासंघ कर्णाली प्रदेशले प्रदेशमा रहेका पेशागत संघ सङ्गठन र सरोकारवाला निकायहरूसँगको छलफलपछि साझा अवधारणा तयार गरेर मुख्यमन्त्री कँडेललाई बुझाएको हो ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले स्थापनाकालदेखि संघमा केन्द्रित आमसञ्चार क्षेत्रका अधिकारहरू प्रदेशमा हस्तान्तरण गर्न तथा प्रदेश सरकारले आमसञ्चारसम्बन्धी एकीकृत कानुन निर्माण गरी स्वायत्त संरचना बनाउन माग गर्दै आएको भए पनि अहिले बन्दै गरेको विधेयकमा स्वायत्त संस्था बनाउने अवधारणा नभएको र अन्य विषयहरू पनि छुटेपछि सर्वपक्षीय सहमतिका आधारमा अवधारणा पत्र बुझाइएको नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
प्रदान गरिएको अवधारणा पत्रका कार्यकारी बोर्ड गठन प्रक्रियाको दायरा फराकिलो र समावेशी बनाउनुपर्ने, आमसञ्चार माध्यमहरुको संस्थागत विकास, उपकरण अनुदान, पत्रकारको क्षमता विकास सम्बन्धी प्रावधानहरू समेट्नुपर्ने, यसका लागि क्षेत्रगत प्रतिनिधित्व हुने गरी उपसमितिहरू गठनको व्यवस्था हुनुपर्ने, स्वायत्त संरचनाको दिगो व्यवस्थापनका लागि अन्तर मन्त्रालयका प्रतिनिधिसहितको निर्देशक समितिको व्यवस्था हुनुपर्ने, विधेयकले सूचना प्रविधि, डिजिटल सञ्चारमाध्यम र न्यु मिडियालाई समेत सम्बोधन गर्नुपर्ने लगायतका विषयहरू समावेश गर्न आग्रह गरेको छ ।
कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले अवधारणा पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाउनुभएको हो । उक्त कार्यक्रममा केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफू प्रदेशमा निर्माण हुने विभिन्न संरचनाहरू निर्माण गर्न र त्यसको सुरुवाती गर्न तयार रहेको बताउनुभयो । प्रदेशको आर्थिक अवस्था कमजोर भएकोले स्वायत्त संस्था बनाउने विषयमा केही चुनौती हुने देखिएको भन्दै अहिले सुरुवात गर्ने विषय महत्त्वपूर्ण रहेको र प्राप्त सुझावहरूलाई समेटेर प्रभावकारी कामको थालनी गर्ने मुख्यमन्त्रीले बताउनुभयो ।